निर्मला पन्तको बलात्कार, हत्याका बारे

कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले उनको बलात्कारी तथा हत्यारा(हरू) पत्ता लगाउन नसक्नु एकदमै खेदजनक स्थिति हो।

यस घटनामा सुरुदेखि नै सरकारी निकाय, त्यसमा पनि नेपाल प्रहरीको भूमिका अपरिपक्व एवं विवादास्पद रहेकोमा पनि सरकारले अहिलेसम्म त्यसलाई सुधार गर्नको लागि आवश्यक कदम नचालेकोमा हामी स्तब्ध भएका छौँ। यसै सन्दर्भमा प्रधानमन्त्रीले ‘निर्मला प्रकरणमा दोषी पक्रन बाह्र वर्ष लाग्न सक्ने’ बताएको र गृहमन्त्रीले ‘पुँजीवादका कारण बलात्कार बढेको’ उल्लेख गरेर आफ्नो अकर्मण्यतालाई छताछुल्ल पारेका छन्। यस्ता गैह्रजिम्मेवार अभिव्यक्तिले प्रधानमन्त्री र गृहमन्त्रीको कुर्सीमा क्रमशः केपी शर्मा ओली र रामबहादुर थापा ‘बादल’ रहुन्जेल यो बर्बर एवं जघन्य घटनाको पटाक्षेप हुन नसक्ने हो कि भन्ने आशङ्कालाई बल पुगेको छ।

हाल आएर निर्मला पन्तको बुबा यज्ञराज पन्तको मानसिक अवस्था विक्षिप्त भएको जस्तो देखिने भिडियोहरू सार्वजनिक भएका छन्। उहाँ तथा उहाँको परिवारको स्वास्थ्य तथा सुरक्षाप्रति संवेदनशील भई उहाँहरूलाई काठमाडौँ ल्याउने प्रयास गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। उहाँहरूको स्वास्थ्य तथा सुरक्षाको लागि आवश्यक प्रबन्ध सरकारले मिलाओस् भन्ने जोडदार माग गर्दछौँ। साथै कञ्चनपुर लगायत अन्य क्षेत्रका नागरिकहरूले सरकारलाई दबाब दिने अभियानमा निर्मलाका परिवारका सदस्यहरूलाई उहाँहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै संलग्न नगराउनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ।

साथै प्रमाण नष्ट गर्न संलग्न अधिकृत तथा विभिन्न दर्जाका प्रहरीहरूमध्ये केहीलाई बर्खास्त गरेको तथा बाँकीलाई विभागीय कारबाही गरेर मात्रै सरकारको कर्तव्य पूरा हुँदैन। निजहरूलाई मुलुकी ऐनको व्यवस्था बमोजिम प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्नको लागि हामी जोडदार माग गर्दछौँ।

यस घटनाको पारदर्शिताको बारेमा देहायअनुसार कदम चाल्न हामी सम्बन्धित सबैमा आग्रह गर्दछौँ।

१) यस तथा यस्ता घटनाहरूमा प्रहरीले पारदर्शिताको मूल्य मान्यतालाई अवलम्बन गर्नु तथा आम नागरिकले विश्वास गर्न सक्ने प्रक्रिया अपनाउनु एकदमै जरुरी रहेको छ। यस घटनामा पारदर्शीरूपमा काम नगरेकोले निर्मलाको शरीरबाट लिइएको नमुना तथा त्यसलाई शङ्कास्पद व्यक्तिको डीएनएसँग परीक्षण गरिएको कामको प्रामाणिकताको विषयमा पनि प्रश्न उठ्नु खेदजनक छ। यी कामहरूमा निष्पक्षरूपमा अनुसन्धान भएको देखाउन आवश्यक परे प्रहरीसँग असम्बन्धित तेस्रो पक्षको प्रयोगशालामा जाँच गर्नुपर्छ।

२) साथै अनुसन्धानलाई नकारात्मक असर नपर्ने गरी नियमित रूपमा (हप्ता-दुई हप्तामा) अनुसन्धानको बारेमा सम्बन्धित निकायबाट सार्वजनिकरूपमा आम नागरिकको पहुँच हुने गरी जानकारी गराउन पनि प्रहरीको काममा जनविश्वास जगाउनको लागि अति आवश्यक रहेको देखिन्छ। स्वयं प्रहरीकै मनोबल बढाउन पनि यस्तो कार्य जरुरी छ।

यस तथा यस्ता अन्य विषयहरूलाई विवेकशील साझा पार्टीले अझ प्रभावकारी ढङ्गले उठाउन नसकेकोमा क्षमा याचना गर्दै आगामी दिनमा हामी स्व. निर्मला पन्त लगायत समस्त पीडितहरूले न्याय नपाएसम्म दृढतापूर्वक पीडितहरूको पक्षमा उभिने प्रतिबद्धता जनाउँछौँ।

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी
१२ मंसिर २०७५

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>