सुबुना बस्नेत

सुबुना बस्नेत

काठमाडौं क्षेत्र नं ४

नमस्कार, म सुबुना बस्नेत। म विगत ४ वर्षदेखि पार्टीभित्र उद्यमशीलता विकास अभियान सञ्चालन गरी हजारौँ युवाहरूलाई स्वरोजगार बन्ने प्रेरणा दिँदै आइरहेकी छु। मैले उद्यमशीलता विषयमा नै पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर (MBA) गरेँ। मैले नेपालका ग्रामीण भेगहरूबाट त्यहाँका स्थानीय उत्पादनहरूलाई काठमाडौँसम्म ल्याएर बेच्ने काम गर्दै आइरहेकी छु।
मैले यसै निर्वाचन क्षेत्रमा ‘युथ फर ब्लड’ नामक एक सामाजिक संस्थाको स्थापना गरी युवाहरूलाई रक्तदानमा संलग्न गराई रगतको अभावमा छटपटाइरहेका हजारौँ मानिसहरूको जीवन जोगाउने अभियानको नेतृत्व पनि गरेँ। यसै गरी विगत ५ वर्षदेखि नेपालमा वैकल्पिक राजनीतिको परिकल्पना र स्थापना गरी आजसम्म पनि नेतृत्व प्रदान गर्दै आइरहेकी छु।
मैले महाभूकम्पको बेला भूकम्पपीडितहरूसँगै बसेर काम गरेकी छु, गाउँ-गाउँमा राहत सामग्रीहरू पुर्‍याउन स्वयंसेवा गरेकी छु तथा डा. गोविन्द केसीसँगै पटक-पटकका अनशनहरूद्वारा भ्रष्टाचारको निरन्तर विरोध गर्दै आइरहेकी छु। मैले नाकाबन्दीको समयमा यात्रा गर्न कठिनाइ परेकाहरूलाई सवारी खोजेर चढाउने अभियान सञ्चालन गरेकी थिएँ।
म आउँदो मङ्सिर २१ गते हुन गइरहेको निर्वाचनमा काठमाडौँ जिल्ला क्षेत्र नं. ४ बाट विवेकशील साझा दलको तर्फबाट उम्मेदवारी दिँदैछु। म न्यूनतम आवश्यकता पुरा गर्न विदेसिनुपर्ने आम नेपालीहरूको बाध्यतालाई चिर्दै हरेक नेपालीका लागि गरी खान पाउने वातावारण निर्माण गर्न सक्छु।
मेरा प्रतिबद्धताहरू:
१. म सांसदको काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ४ र सिङ्गो नेपालका लागि आफूलाई पूर्णतया समर्पित गरेर काम गर्नेछु।
२. म काठमाडौँ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकासँग सहकार्य गरी क्षेत्र नं. ४ मा पर्ने धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरूको संरक्षण र प्रवर्धन गर्नुका साथै यस क्षेत्रको पर्यटकीय विकास, बाटोघाटो निर्माण र कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिने, विकासका कार्यहरू गर्दा हुने धुलो-धुवाँ नियन्त्रण गरेर ठेकदारहरूलाई जिम्मेवार बनाउने, सुरक्षित आवतजावतको लागि सोलार बत्ती, सरसफाइ र स्वास्थ्यका लागि ढल निकास र फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिनेछु।
३. म सांसदका रूपमा यस क्षेत्रमा व्यवस्थित सहरीकरण, आधारभूत पूर्वाधारबारे नागरिकहरूको दृष्टिकोण संसद्‌मा जोडदार रूपले राख्नेछु र यी विषयहरूमा आवश्यक नीति र कानुन निर्माण गर्नेछु।
४. म संसद् विकास कोषमा आएको पैसा आफ्नो वा निहित स्वार्थ बोकेका व्यक्तिहरूको निजी स्वार्थ पुरा गर्न कदापि खर्चिने छैन। आएको रकमको खर्च विवरणमा पूर्ण पारदर्शिता कायम राख्नेछु।
५. म संसद्‌बाट हुन सक्ने नीतिगत भ्रष्टाचारको बारेमा निरन्तर खबरदारी गर्नेछु र आम नगारिकहरू समक्ष सही कुराहरू जस्ताको तस्तै प्रस्तुत गर्नेछु। म विकासको बजेटमा हुने भ्रष्टाचार, जनस्वास्थ्य र वातावरणलाई ध्यानमा नराखी विकास निर्माणका कार्य गर्नेलाई कडा कारबाही हुने नीति नियम बनाउन र त्यसको कार्यान्वयन गर्न विशेष जोड दिनेछु। म युवाहरूका लागि नेपालभित्रै गरी खाने वातावरण सिर्जना गर्नको लागि आवश्यक नीति निर्माण, बजेट विनियोजन र त्यसको कार्यान्वयनमा विशेष जोड दिनेछु।

अरु उमेदवारहरु

मोती मियाँ

मोती मियाँ

सप्तरी क्षेत्र नं १
तुलसी राज उप्रेती

तुलसी राज उप्रेती

झापा क्षेत्र नं ४
लोकबहादुर बुढा क्षत्री

लोकबहादुर बुढा क्षत्री

कैलाली क्षेत्र नं १
डा. सुमित्रा सिंह लामा

डा. सुमित्रा सिंह लामा

काठमाडौं क्षेत्र नं ३