प्रेस विज्ञप्ति: राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँ

प्रेस विज्ञप्ति: राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँ

अर्को साता नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आउँदै छ। सो सन्दर्भ पारेर विवेकशील साझा पार्टी नेपाल सरकारसँग निम्न मागहरू गर्दछ:

१) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस (Nepal Day)’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।

२) संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।

३) राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।

४। त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ। उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा विवेकशील साझा पार्टी हार्दिक अपिल गर्दछ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: २० पुष २०७८

प्रेस विज्ञप्ति: विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

प्रेस विज्ञप्ति: विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

प्रेस विज्ञप्ति: विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। सो यात्रा कञ्चनपुरबाट पुष २७ गते सुरु गरिनेछ र सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य हुनेछ।
पार्टीको हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिनेछ।
नागरिकहरूका आ-आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र भन्छन्, “देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ। त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्‍यो। सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो।”
विवेकशील साझा पार्टी आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरूलाई पार्टीको यो विशेष यात्रामा साथ दिन हार्दिक अनुरोध गर्दछ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: ०७ पुस २०७८
प्रेस विज्ञप्ति: भ्रामक समाचारबारे।

प्रेस विज्ञप्ति: भ्रामक समाचारबारे।

गत केही समयदेखि कतिपय प्रकाशनहरूमा विवेकशील साझा पार्टीका बारे आएका भ्रामक समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

विचारमा लेखकलाई व्यक्तिगत विश्लेषणको छुट भए पनि समाचारमा त्यस्तो छुट नहुने हुँदा, पार्टीबारे समाचार प्रकाशन गर्दा पार्टीको धारणा सहित प्रकाशन गरिदिन विनम्र आग्रह गर्दछौँ।

विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो। त्यसबाहेक, विभिन्न मिडियामा आएजस्तो अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य भएको छैन। केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको हो। त्यो कारबाही होइन।

पार्टीको बागमती प्रदेशका सह-संयोजकले राजीनामा दिनुभएको हो तर मिडियाहरूमा आएजस्तो बागमती प्रदेश समिति भङ्ग भएको होइन।

मिडियामा आएजस्तो निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण सोधेको छैन। निर्वाचन आयोगले केही विषयमा ‘प्रतिक्रिया’ मागेको हो, जुन पार्टीले बुझाइसकेको छ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै पनि पार्टीको केन्द्रीय समितिको निर्णय विरुद्ध उजुरी दिनु परेमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित ३० दिनभित्र निर्वाचन आयोगमा उजुरी गर्नु पर्ने हुन्छ।

पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य रहँदैन र सोही कुरा हामीले निर्वाचन आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरेका छौँ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: ०५ पुष २०७८

प्रेस विज्ञप्ति: पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण

प्रेस विज्ञप्ति: पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण

अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै ‘धितोपत्र बोर्ड: साम्राज्यवादको विकसित रूप’ भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ।

पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो।

पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ।

त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन। धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
२७ मङ्सिर, २०७८

मातृभूमिका लागि नेपालीका कयौँ अभियानकर्ता विवेकशील साझामा आबद्ध

मातृभूमिका लागि नेपालीका कयौँ अभियानकर्ता विवेकशील साझामा आबद्ध

गाउँ पालिका महासङ्घका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायण प्रसाद कोइराला, पूर्व सह-संयोजक भवानी प्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठ तथा कतिपय अगुवाहरू विवेकशील साझा पार्टीमा आबद्ध भएका छन्।

लामो समय नेपाली काँग्रेसको राजनीति गरेका कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक जना अगुवा हुन्।

विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्रप्रसाद सापकोटा (संयोजक, चितवन), सुशील खनाल (संयोजक, रुपन्देही), कमलराज पौडेल (संयोजक, पाल्पा), माधव भण्डारी (सह-संयोजक, कास्की), प्रकाश अधिकारी (नवलपुर), देवी बहादुर अधिकारी (गोर्खा), माधव प्रसाद लम्साल (नवलपुर), मदन पोखरेल (रुपन्देही) तथा विकास सापकोटा (चितवन) रहेका छन्।

मातृभूमिका लागि नेपालीका पूर्व महासचिव कोइराला भन्छन्, “अब मातृभूमिलाई शिरमा राख्ने सबै नागरिक, अभियानकर्मी तथा पार्टीहरू एकबद्ध हुनै पर्ने अवस्था आएको छ। अन्यथा, यो देशको बेथितिमा कुनै सुधार आउने छैन।”

त्यसै गरी, पूर्व सह-संयोजक भवानी प्रसाद शर्माले विवेकशील साझा अब देशका लागि एक मात्र विकल्प भएको उल्लेख गरे।

विवेकशील साझा बृहत्, रूपान्तरणकारी शक्ति निर्माणको अभियानमा जुटेको छ। सोही अभियान अन्तर्गत हालै विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकता भएको थियो र सो एकताको घोषणा कार्यक्रम यही मङ्सिर १८ गते हुँदै छ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: १० मङ्सिर २०७८

विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबिच एकता

राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ।

विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको हो। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ। र, रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन्।

सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।

“राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान” का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।

सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्। यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ।

सिटिजन्स डिसकशन फोरमका संयोजक कर्ण बहादुर शाही भन्छन्, “विदेशीबाट परिचालित नभई नेपालीहरूबाटै स्वचालित राष्ट्रवादी शक्ति निर्माण नेपाली राजनीतिका लागि अत्यावश्यक भइसकेको छ। हामी त्यसैका लागि रूपान्तरणकारी नयाँ शक्ति निर्माणमा जुटेका हौँ। यो सुरुवात मात्र हो।”

राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी भन्छन्, “यो देशमा गत केही वर्षयता सङ्घीयता, धर्म निरपेक्षता, जातीयता तथा क्षेत्रीयताको भावनालाई उक्साएर सामाजिक दरार र विखण्डन ल्याउने प्रयास भयो र त्यसले देशको स्वाधीनता र सार्वभौमिकतालाई क्षयीकृत गरेको छ। त्यसलाई रोक्न सम्पूर्ण देशभक्त शक्तिहरू एकत्र हुनै पर्ने अवस्था आएको छ।”

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए। उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक संवृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन्।

अध्यक्ष मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहका लागि प्रस्ताव गरेको र विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको “मार्ग परिवर्तन: विचारभन्दा माथि देश” दस्ताबेजलाई एकीकृत पार्टीले अङ्गीकार गर्दै अघि बढ्नेछ। एकता घोषणा छिटै एक सार्वजनिक समारोहका माझ गरिनेछ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: २८ कार्तिक २०७८

‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

न्यायालयको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न मुख्य भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीश स्वयम् नै न्यायिक विचलनको मूल स्रोत बन्नु र कार्यपालिकासमेतमा हिस्सेदारी खोज्नु विधिको शासनबाट संचालित मुलुकमा कल्पनाबाहिरको विषय हो। यद्यपि, लोकतान्त्रिक पद्धति र मूल्य माथि नै गम्भीर आँच पुग्ने गरी राणाबाट प्रदर्शित विचलन र गैर संवैधानिक महत्त्वाकाङ्क्षा एवम् न्यायपालिकामा वर्षौँयता थुप्रिँदै गएका अधिकांश विकृतिको चाङका लागि हाम्रा प्रमुख राजनीतिक दलहरूको गैह्र लोकतान्त्रिक चरित्र र विकृत दोहनकारी अभ्यास पनि उत्तिकै जिम्मेवार छन्।

एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ। अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ताहरू सदस्य रहने गरी उच्चस्तरीय आयोग गठन गर्न र उक्त आयोगले न्यायाधीश नियुक्तिको हालको प्रक्रिया र संवैधानिक व्यवस्थाको गम्भीर पुनरावलोकन गरी समग्र न्यायपालिकाको शुद्धिकरणका लागि गर्ने सिफारिस कार्यान्वयन सुनिश्चितताको इमानदार प्रतिबद्धता व्यक्त गर्न हामी माग गर्दछौँ।

संवैधानिक परिषद् र न्याय परिषद्को संरचना पुनरावलोकन, न्याय न्यायपालिकालाई हालको अवस्थासम्म ल्याई पुऱ्याउन भूमिका खेल्नेहरूमाथि कसुर अनुसारको दण्ड सजाय देखि आवश्यकता अनुसार न्यायाधीश पुनर्नियुक्तिसम्मको सिफारिस उक्त आयोगको कार्यादेशमा पार्नु जरुरी छ। न्यायपालिकाले स्वीकार गरिसकेको न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदन कार्यान्वयनले तत्कालको सङ्कटको निकासको बाटो खुला गर्ने हाम्रो विश्वास छ।

आम रूपमा विवादै विवादको घेरामा परेका र आफ्ना सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश राणाले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने विवेकशील साझा पार्टीको ठहर छ। राणाले स्वेच्छाले राजीनामा नदिने अडान कायमै राखे आयोगले प्रतिवेदन बुझाउने अवधिसम्म उनलाई बिदामा बस्ने विकल्प दिने र त्यसमा पनि सहमत नभए संसदमा रहेका दलहरूले उनी विरुद्ध अविलम्ब महाभियोगको प्रक्रिया अघि बढाउनुपर्छ।

तर, गठबन्धन सरकारले संसद्को चालू अधिवेशन नै केही दिनअघि हठात् अन्त्य गरेर राणालाई महाभियोग प्रस्तावबाट जोगाउन खोजेको आम आशङ्कामा बल पुऱ्याएको छ। न्यायालयमा विकृति भित्राउनेदेखि मलजलसम्मका मुख्य जिम्मेवार राजनीतिक दलहरू अझै पनि समस्याको निकासका लागि गम्भीर नहुनु विडम्बनापूर्ण र खेदजनक छ।

शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
२६ कार्तिक, २०७८

प्रेस नोट: निर्वाचन आयोगको निर्णयबारे

प्रेस नोट: निर्वाचन आयोगको निर्णयबारे

प्रेस नोट: निर्वाचन आयोगको निर्णयबारे

आदरणीय सञ्चारकर्मी मित्रहरू,

तिहार, नेपाल संवत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा विवेकशील साझा पार्टी यहाँहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ।

शुभकामनासँगै यहाँहरूलाई एउटा जानकारी पनि गराउँछौँ। गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुई-तिहाइ भन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको थियो। साथै, केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र एक जनाको देहावसानका कारण) अब १२४ रहेको जानकारी गराएको थियो।

यी दुवै विषयबारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराउन आवश्यक थियो। हामीले निर्वाचन आयोगलाई त्यसै अनुरूप पत्राचार गरेका थियौँ।

हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम “विवेकशील साझा पार्टीको विधान २०७८” र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ। अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ। साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ।

अतः अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध छैन। अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गर्नुभएको छ। यसबारे थप विवरण बुझ्न परेमा पार्टी प्रवक्ता शरदराज पाठकलाई ९८५१२-०९८७२ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

सूचना तथा संचार विभाग
विवेकशील साझा पार्टी
बखुण्डोल, ललितपुर

विवेकशील साझा केन्द्रीय समितिको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा केन्द्रीय समितिको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा केन्द्रीय समितिको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश (https://rabindramishra.com/6062/)” लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई-तिहाइ भन्दा बढी मतले पारित गरेको छ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ।

पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

 

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: ११ कार्तिक, २०७८

शोक वक्तव्य: रमेश महर्जनको निधन अपूरणीय क्षति

शोक वक्तव्य: रमेश महर्जनको निधन अपूरणीय क्षति

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।

एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो।

२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो। गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गर्नुभएको थियो।

२०७२ सालको महा-भूकम्पपछि उहाँले पाटनमा नेवा: वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गर्नुभएको थियो, जसको चौतर्फी प्रशंसा भएको थियो।

नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो।

महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति हो। विवेकशील साझा पार्टी उहाँको निधनले परेको चोट सहन गर्ने शक्ति मिलोस् भन्ने कामना सहित शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ।

शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
मिति: २ कार्तिक, २०७८