Skip links

विवेकशील साझा पार्टीको विधान २०७८

प्रस्तावना

नेपाली राजनीतिलाई वास्तविक अर्थमा देशभक्तिपूर्ण, राष्ट्रिय हित केन्द्रित, लोकतान्त्रिक, अग्रगामी, सुसंस्कृत, समतामूलक संवृद्धि र परिणाममुखी बनाउनुपर्ने आवश्यकता बोध गर्दै,

हालसम्म देशको स्वाधीनता, अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रियता र राष्ट्रिय सम्मानका लागि भएका सबै आन्दोलनका उपलब्धिहरूको जगेर्ना गर्दै,

महिला, मधेसी, जनजाति, दलित, अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय, उत्पीडित वर्ग तथा क्षेत्रको हक तथा अधिकारका लागि भएका संघर्षहरूद्वारा प्राप्त सकारात्मक नतिजाहरूलाई संस्थागत गर्ने दायित्वलाई आत्मसात् गर्दै,

जनताका राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका सपनाहरू पुरा गर्ने प्रतिविद्धताका साथ,

‘कल्याणकारी लोकतन्त्र’का मान्यताहरूबाट निर्देशित संवैधानिक सर्वोच्चता, नेपाली मौलिकता सहितको शासन व्यवस्थाका माध्यमबाट जनभावनाको कदर गर्दै जनताको भविष्य बदल्ने सङ्कल्पका साथ,

पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity), उत्कृष्टता (Meritocracy), निष्ठा (Loyalty), सहानुभूति (Empathy) जस्ता मूल्य-मान्यतामा सहित सुसंस्कृत राजनीतिलाई स्थापित गर्ने अभिष्टका साथ विवेकशील साझा पार्टी गठन गरि, पार्टीलाई व्यवस्थित ढंगले संचालन गर्न विवेकशील साझा पार्टीको विधान २०७८ जारी गरिएको छ। यो विधानले ‘विवेकशील साझा पार्टीको विधान (२०७४ – पहिलो संशोधन) लाई विस्थापित गर्नेछ।

भाग – १

१. नाम र प्रारम्भ

१.१. यस विधानको पुरा नाम ‘विवेकशील साझा पार्टीको विधान (२०७८)’ रहनेछ।

१.२. यो विधान पार्टीको केन्द्रीय समितिको दुई-तिहाइ बहुमतले पारित गरेपछि लागू हुनेछ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमा उल्लेखित विभिन्न शब्द, नाम, पद वा पदावलीको परिभाषा देहाय बमोजिम हुनेछ।

२.१. ‘पार्टी’ भन्नाले ‘विवेकशील साझा पार्टी’ भन्ने बुझिनेछ।

२.२. ‘विधान’ भन्नाले ‘विवेकशील साझा पार्टी’ को विधान बुझिनेछ।

२.३. ‘नियमावली’ भन्नाले ‘विवेकशील साझा पार्टीको नियमावली’ बुझिनेछ।

२.४. ‘सदस्य’ भन्नाले विवेकशील साझा पार्टीको सदस्यलाई बुझाउनेछ।

२.५. ‘अध्यक्ष’ भन्नाले विवेकशील साझा पार्टीका तहगत समितिका अध्यक्षहरूलाई बुझाउनेछ।

२.६. ‘समिति’ भन्नाले विवेकशील साझा पार्टीका तहगत समितिहरूलाई बुझाउनेछ।

२.७. ‘कार्यालय’ भन्नाले विवेकशील साझा पार्टीका तहगत कार्यालयलाई बुझाउनेछ।

२.८. ‘पदाधिकारी’ भन्नाले विवेकशील साझा पार्टीको तहगत समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष आदिलाई बुझाउनेछ।

२.९. ‘निकाय’ भन्नाले विवेकशील साझा पार्टीका विभिन्न तहगत समिति, विभाग वा पार्टी सम्बद्ध संरचनाहरूलाई बुझाउनेछ।

२.१०. ‘आङ्गिक संगठन’ भन्नाले विवेकशील साझा पार्टी सम्बद्ध विभिन्न सामूहिक वा सामुदायिक सङ्गठनहरूलाई बुझाउनेछ।

२.११. ‘संसदीय दल’ भन्नाले विवेकशील साझा पार्टीको संघीय प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रादेशिक सभाको संसदीय दललाई बुझाउनेछ।

२.१२. ‘स्थानीय समिति वा सभा’ भन्नाले नेपाल सरकारले निर्दिष्ट गरेको स्थानीय तह मानिएको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकामा क्रियाशील पार्टीका समिति वा सभा बुझ्नुपर्नेछ।

३. उद्देश्य

३.१. सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, नेपाली जनताको एकता, देशको शान्ति र स्थिरतालाई सर्वोपरि राख्दै ‘कल्याणकारी लोकतन्त्र’को स्थापना र उत्तरदायी शासन व्यवस्थाका लागि क्रियाशील रहने।

३.२. नेपाली जनताले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन, न्याय र समानताका लागि गरेका सम्पूर्ण आन्दोलनका सकारात्मक परिणामहरूलाई जोगाउँदै जनअपेक्षा अनुसार आर्थिक विकास, समतामूलक संवृद्धि र सामाजिक न्यायको प्रवर्द्धन गर्ने।

३.३. नागरिकको निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने।

३.४. जनताका राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूको पक्षमा राजनीतिक, वैचारिक र सांगठनिक अभियानहरू सञ्चालन गर्ने।

३.५. सुसंस्कृत राजनीति, जनमुखी राज्य, समावेशीकरण र सुशासनको सुनिश्चितताका लागि राजनीतिक अभियान गर्ने।

३.६. निर्वाचन र आन्दोलनका माध्यमबाट जनताका मुद्दाहरूलाई स्थापित गर्ने र आफ्ना प्रतिबद्धता पुरा गर्न इमानदारीका साथ क्रियाशील हुने।

४. कार्यालय र झण्डा

विवेकशील साझा पार्टीको कार्यालय अनुसूची १ र झण्डा अनुसूची २ बमोजिम हुनेछ।

५. ‍चुनाव चिन्ह र छाप

विवेकशील साझा पार्टीको चुनाव चिन्ह अनुसूची ३ र छाप अनुसूची ४ बमोजिम हुनेछ।

६. लेटरहेड र सदस्यता फारम

विवेकशील साझा पार्टीको लेटर हेड अनुसूची ५ र सदस्यता फारम अनुसूची ६ बमोजिम हुनेछ।

भाग – २

७. राजनीतिक तथा संगठनात्मक सिद्धान्त

७.१. पार्टीको राजनीतिक मार्गदर्शन ‘कल्याणकारी लोकतन्त्र’ हुनेछ।

७.२. सहभागितामूलक लोकतन्त्र, समावेशीकरण, सुशासन र सुसंस्कृत राजनीतिलाई पार्टीले निरन्तर अभ्यास गर्नेछ।

७.३. पार्टी सदैव जनताको सम्पूर्ण अधिकारका लागि प्रतिबद्ध रहँदै सामाजिक, आर्थिक न्याय सहितको संवृद्धिका लागि क्रियाशील हुनेछ।

७.४. पार्टीमा सबै सदस्यहरू समान र सार्वभौम हुनेछन्।

७.५. पार्टीमा कुनै पनि सदस्य माथिल्लो समितिमा निर्वाचित भए वा अन्य जिम्मेवारी प्राप्त गरे तल्लो समितिबाट एक महिनाभित्र राजीनामा दिनु पर्नेछ। अन्यथा सो पद स्वतः रिक्त भएको मानिनेछ।

७.६. पार्टीले निर्धारण गरेका मूल्यमान्यता र आचारसंहितालाई नैतिक जिम्मेवारीको रूपमा सम्पूर्ण सदस्यहरूले पालना गर्नुपर्नेछ।

७.७. पार्टीका सबै तहमा महिला, दलित, जनजाति, अल्पसङ्ख्यक समुदाय र पिछडिएको क्षेत्रको समावेशितालाई ध्यान दिइनेछ।

७.८. पार्टीमा नयाँ पुस्ता र युवाहरूको प्रवेश र संलग्नतालाई उत्प्रेरित गरिनेछ।

७.९. पार्टीभित्र आन्तरिक लोकतन्त्र र समिति प्रणालीको सन्तुलनलाई कार्य प्रक्रियाको रूपमा अवलम्बन गरिने छ।

भाग – ३

८. सदस्यता

८.१. पार्टीमा एकै प्रकारको मात्र सदस्यता हुनेछ।

८.२. पार्टीको राजनीतिक कार्यक्रम, विधान तथा अनुशासनको पालना गर्ने १८ वर्ष उमेर पुगेको जुनसुकै नेपाली नागरिकले तोकिए बमोजिमको वार्षिक सदस्यता शुल्क बुझाएर पार्टीको सदस्यता प्राप्त गर्न सक्नेछन्।

८.३. कुनै व्यक्ति आफ्नो स्थायी बसोबास भएको वा अस्थायी बसोबास भएको स्थानीय तहमा सदस्य बन्न सक्नेछन्।

८.४. सदस्यले आफ्नो कार्यक्षेत्र वा भूगोल सदस्यता लिँदै निर्धारण गर्नुपर्नेछ। त्यसमा परिवर्तन गर्नुपरेमा सम्बन्धित दुवै समितिलाई जानकारी दिई आफ्नो अभिलेख अद्यावधिक गर्नुपर्ने छ।

८.५. निर्वाचन आयोगमा दर्ता भएका अन्य कुनै राजनीतिक दलको सदस्यता लिएको, पार्टीको मूल्यमान्यता विपरीत काम गर्ने कुनै पनि संस्थाको सदस्य भएको, भ्रष्टाचार लगायत नैतिक पतन हुने फौजदारी मुद्दामा अदालतबाट दोषी ठहर भएको या नेपालको कानुनले राजनीतिक दलको सदस्य हुन वर्जित गरेको व्यक्तिले पार्टीको सदस्यता लिन पाउने छैन।

९. सदस्यताको विवाद, निरूपण तथा खारेजी

९.१. सदस्यता सम्बन्धी कुनै पनि विवाद भएमा सम्बन्धित समितिमा रहेको “न्याय तथा अनुशासन समिति” मार्फत विवाद समाधान गरिनेछ। यदि त्यो निर्णय चित्त नबुझेमा सूचना पाएको मितिले ३५ दिनभित्र उपल्लो तहको अनुशासन समितिमा पुनरावेदन गर्न सकिनेछ।

९.२. पार्टीको जिल्ला, प्रदेश वा राष्ट्रिय तहको न्याय तथा अनुशासन समितिले सदस्यता खारेजी वा निलम्बन गर्न वा कार्यवाही रोक्न सम्बन्धित कार्यसमितिलाई सिफारिस गर्न सक्नेछ।

९.३. जुनसुकै कारणले सम्बन्धित व्यक्तिको सदस्यता खारेज भएको भए पनि, छानबिनपछि निर्दोष पाइएमा वा कारबाहीको अवधि पूरा गरेमा निजले पुनः सदस्यता प्राप्त गर्न सक्नेछ। तर अन्यत्र जे सुकै लेखिएको भएता पनि नैतिक पतन हुने फौजदारी मुद्दामा वा भ्रष्टाचार सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएमा कसैलाई पनि पुनः सदस्यता दिइने छैन।

९.४. देहायको अवस्थामा सदस्यता समाप्त हुनेछ:

९.४.१. सदस्यको मृत्यु भएमा।

९.४.२. सदस्यले स्वेच्छाले दल परित्याग गरेमा।

९.४.३. न्याय तथा सुशासन समितिको कारबाहीबाट निष्कासन गरिएमा।

९.४.४. तोकिए बमोजिमको समयमा सदस्यता नवीकरण नगरेमा।

१०. नवीकरण

१०.१. सदस्यले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्रमा सदस्यता नवीकरण गर्नुपर्नेछ।

१०.२. सो समयमा नवीकरण नगरेमा नवीकरण शुल्क प्रतिवर्ष दोब्बर लाग्ने छ।

१०.३. सदस्यले महाधिवेशन वा अधिवेशनको कार्य तालिका सार्वजनिक भइसकेपछि अनिवार्य रूपमा कार्य तालिका अनुसार सो वर्षसम्मको सदस्यता नवीकरण गरिसक्नुपर्नेछ।

१०.४. महाधिवेशन वा अधिवेशनमा अद्यावधिक नगरिएका सदस्यहरू स्वतः खारेज हुनेछन्। र त्यस्ता सदस्यहरूले आफ्नो सदस्यता कायम राख्न पुनः सदस्यता लिनुपर्नेछ।

११. सदस्यहरूको काम, कर्तव्य र अधिकार

११.१. एक सार्वभौम सदस्यको रूपमा पार्टीको विधान, उद्देश्य, नीति तथा कार्यक्रम, कार्य योजना र निर्णयहरूको पक्षमा सक्रियतापूर्वक क्रियाशील रहने।

११.२. पार्टीको तहगत समितिका अधिवेशन वा महाधिवेशनमा भाग लिने।

११.३. पार्टीमा विभिन्न निर्वाचनहरूमा तोकिएअनुसार मतदान गर्ने वा उम्मेदवारी दिने।

११.४. पार्टीको निर्णय, निर्देशन र कार्यक्रमको अध्ययन गरेर त्यसको प्रचारप्रसार गर्ने, कार्यान्वयन गर्ने तथा सम्बन्धित समितिहरूबाट प्राप्त जिम्मेवारी पुरा गर्ने।

११.५. पार्टीले आयोजना गर्ने राजनीतिक गतिविधिका साथै अभियान, आन्दोलन र निर्वाचन लगायतका कामहरूमा संलग्न हुने र सफल बनाउने।

११.६. आवश्यकता अनुसार पद्धति सङ्गत ढंगले पार्टीलाई पृष्ठपोषण, सुझाव र सल्लाह दिने।

भाग – ४

तहगत संरचना

१२. कार्यकारी समितिहरू

१२.१. टोल समिति

१२.२. वडा समिति र वडा सभा

१२.३. स्थानीय समिति र स्थानीय सभा

१२.४. विशेष संरक्षित र स्वायत्त क्षेत्र, संरक्षित र स्वायत्त क्षेत्र सभा

१२.५. जिल्ला समिति र जिल्ला सभा

१२.६. प्रादेशिक समिति र प्रादेशिक सभा

१२.७. केन्द्रीय समिति, केन्द्रीय कार्य सम्पादन समिति र विराट सभा

१२.८. राष्ट्रिय महाधिवेशन

१२.९. संसदीय दल

१३. संयोजनकारी समितिहरू

१३.१. निर्वाचन क्षेत्र संयोजन समिति

१३.२. परामर्श परिषद्

१३.३. सद्भाव समूह

१३.४. सम्पर्क मञ्च

१४. विशेष समितिहरू

१४.१. न्याय तथा अनुशासन समिति

१४.२. निर्वाचन समिति

१४.३. आर्थिक तथा लेखा परीक्षण समिति

भाग – ५

तहगत कार्यकारी समितिहरू

१५. टोल समिति

१५.१. कुनै पनि टोलमा ११ जना वा सो भन्दा बढी पार्टी सदस्य भएमा स्वतःस्फूर्त रूपमा टोल समिति गठन गरेर वडा समिति वा माथिल्लो समितिमा जानकारी दिन सकिनेछ।

१५.२. टोल समितिमा संलग्न सदस्यहरू मध्येबाट आपसी सहमति वा निर्वाचनद्वारा एक जना संयोजक रहने गरी बढीमा ७ सदस्यीय टोल समिति गठन गरिनेछ। समिति निर्माण गर्दा समावेशितालाई ध्यानमा राख्नु पर्नेछ।

१५.३. टोल समितिका संगठित सम्पूर्ण पार्टी सदस्यहरू वडा सभाका प्रतिनिधि हुनेछन्।

१५.४. टोल समितिको कार्यकाल बढीमा २ वर्षको हुनेछ।

१५.५ टोल समितिको काम, कर्तव्य र अधिकार

१५.५.१. पार्टीको स्थानीय इकाईको रूपमा जनतासँग नियमित सम्पर्क बढाउने र पार्टीको नीति कार्यक्रम र योजनाहरू जनताबिचमा प्रस्तुत गर्ने र जनताका सुझावहरू सुन्ने।

१५.५.२. टोलको विकास निर्माण, जनसम्पर्क र जनसंवादका रचनात्मक कामहरू गर्ने।

१५.५.३. नियमित बैठक बस्ने र टोलको आवश्यकता अनुसार कार्य योजना बनाई कार्यान्वयन गर्ने।

१५.५.४. टोलमा पार्टी सदस्यता बिस्तार गर्ने र सदस्यहरूलाई उचित जिम्मेवारी दिने।

१६. वडा समिति र वडा सभा

१६.१. प्रत्यक्ष निर्वाचनद्वारा चार जना पदाधिकारी, अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित बढीमा १७ सदस्यीय वडा समिति गठन हुनेछ। जसमध्ये ८५ प्रतिशत सदस्यहरूको निर्वाचन गरिनेछ। बाँकी १५ प्रतिशत सदस्यहरू समावेशितालाई पनि ध्यानमा राख्दै मनोनित गरिनेछ।

१६.२. आङ्गिक संगठनका वडा प्रमुखहरू वडा समितिको पदेन सदस्य हुनेछन्।

१६.३. वडा समितिमा अनिवार्य रूपमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिनेछ।

१६.४. वडा समितिको कार्यकाल ४ वर्षको हुनेछ।

१६.५. वडा सभामा वडा समितिका पदाधिकारी तथा सदस्यहरू, टोल समितिका अध्यक्ष तथा सदस्यहरू रहनेछन्।

१६.६ वडा समितिको काम, कर्तव्य र अधिकार

१६.६.१. नियमित रूपमा वडा तहको बैठक गर्ने, कार्य योजना बनाउने र कार्यान्वयन गर्ने।

१६.६.२. वडाको आवश्यकता र माथिल्लो समितिको निर्णय तथा निर्देशन अनुसार कामको योजना बनाउने र कार्यान्वयन गर्ने।

१६.६.३. वडा समिति अन्तर्गतका सदस्यहरूको विवरण र जिम्मेवारी अद्यावधिक गर्ने र सम्बद्ध सदस्यहरूलाई आवश्यक काममा लगाउने।

१६.६.४. वडा स्तरका राजनीतिक, सामाजिक र संगठनात्मक कामहरूबारे माथिल्लो समितिलाई जानकारी गराउने।

१६.६.५. आवश्यकता अनुसार वडा सभाको बैठक आयोजना गर्ने र वडा स्तरको कार्य प्रगतिको समीक्षा तथा भावी कार्य योजनाहरूबारे छलफल गरी त्यसलाई पारित गर्ने।

१६.६.६. वडा तहको विकासमा सहभागी हुने, वडा सरकारको काम कारबाहीप्रति चनाखो बनेर आलोचनात्मक सहकार्य गर्ने। वडा स्तरमा जनताको मुद्दाहरूको पक्षमा रहने।

१६.७.७. पार्टीको स्थानीय इकाईको रूपमा जनतासँग नियमित सम्पर्क बढाउने र पार्टीको नीति कार्यक्रम र योजनाहरू जनताबिचमा प्रचारप्रसार गर्ने र जनताका सुझाव अनुसार क्रियाशील हुने।

१७. स्थानीय तह र स्थानीय सभा

१७.१. स्थानीय तहका समितिलाई गाउँ समिति र नगर/उपमहानगर/महानगरपालिका समिति भनिने छ।

१७.२. गाउँ समिति बढीमा २५ सदस्यीय, नगरपालिका समिति बढीमा ३५ सदस्यीय तथा महानगर र उपमहानगर समिति ४५ सदस्यीय हुनेछन्। प्रत्येक समितिमा न्यूनतम ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित हुनेछ।

१७.३. आङ्गिक सङ्गठनहरूका स्थानीय तहका प्रमुखहरू सम्बन्धित समितिको पदेन सदस्य हुनेछन्।

१७.४. सम्बन्धित स्थानीय तहको अधिवेशनले प्रत्यक्ष निर्वाचनद्वारा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र १ जना कोषाध्यक्ष सहित ८५ प्रतिशत सदस्यहरू चयन गर्नेछ। बाँकी १५ प्रतिशत सदस्यहरू समावेशितालाई पनि ध्यानमा राख्दै मनोनित गरिने छन्।

१७.५. स्थानीय समितिहरूको कार्यकाल ४ वर्षको हुनेछ।

१७.६. स्थानीय सभामा स्थानीय समितिका पदाधिकारी तथा सदस्यहरू, वडा समितिका पदाधिकारी तथा सदस्यहरू र अन्य सम्बद्ध समिति सदस्यहरू सहभागी हुनेछन्।

१७.७ स्थानीय समितिको काम, कर्तव्य र अधिकार

१७.७.१. स्थानीय तहको पार्टी बैठक गर्ने, कार्य योजना बनाउने र कार्यान्वयन गर्ने।

१७.७.२. स्थानीय आवश्यकता र माथिल्लो समितिको निर्णय तथा निर्देशन अनुसार पार्टीका कामहरू निर्धारण गर्ने र कार्यान्वयन गराउने।

१७.७.३. स्थानीय तह अन्तर्गतका सदस्यहरूको विवरण र जिम्मेवारीको अभिलेख अद्यावधिक गर्ने र आफू सम्बद्ध सदस्यहरूलाई राजनीतिक जिम्मेवारीमा खटाउने।

१७.७.४. स्थानीय तहको अगुवाइमा भएका राजनीतिक, सामाजिक र संगठनात्मक कामहरूबारे माथिल्लो समितिमा प्रतिवेदन बुझाउने।

१७.७.५. आवश्यकता अनुसार स्थानीय सभाको बैठक आयोजना गर्ने र कार्य प्रगतिको समीक्षा तथा भावी कार्य योजनाहरूबारे छलफल र निर्णय गरी कार्यान्वयनको सुनिश्चितता दिने।

१७.७.६. स्थानीय तहको विकासमा सहभागी हुने, स्थानीय सरकारसँग आलोचनात्मक सहकार्य गर्ने र जनताका मुद्दाहरूमा प्रतिबद्ध रहने।

१७.७.७. पार्टीको स्थानीय इकाईको रूपमा जनतासँग नियमित सम्पर्क बढाउने र पार्टीको नीति कार्यक्रम र योजनाहरू जनताबिचमा प्रस्तुत गर्ने र जनतासँग सहकार्य गर्ने।

१८. ‘विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र’ र तदनुरूपका सभाहरू

१८.१. यदि स्थानीय तहको नयाँ पुनः संरचना गरी कुनै क्षेत्रलाई ‘विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र’ तोकिएको खण्डमा उक्त क्षेत्रमा पार्टीको राजनीतिक तथा संगठनात्मक गतिविधिहरू गर्न पार्टीको केन्द्रीय समितिले आवश्यक निर्देशिका बनाई काम गर्न सक्नेछ।

१९. जिल्ला समिति र जिल्ला सभा

१९.१. जिल्ला समिति बढीमा ४५ सदस्यीय रहनेछ। समितिमा न्यूनतम ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनेछ।

१९.२. सम्बन्धित जिल्लाको अधिवेशनले प्रत्यक्ष निर्वाचनद्वारा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र १ जना कोषाध्यक्ष सहित ८० प्रतिशत सदस्यहरू निर्वाचनद्वारा चयन गर्नेछ। बाँकी २० प्रतिशत सदस्यहरू समावेशितालाई पनि ध्यानमा राख्दै मनोनित गरिनेछन्।

१९.३. सम्बन्धित जिल्लाभित्रका नगर र गाउँपालिकाका अध्यक्षहरू साथै आंगिक संगठनका जिल्ला प्रमुखहरू पदेन जिल्ला समिति सदस्य रहनेछन्।

१९.४. जिल्ला समितिको कार्यकाल ४ वर्षको हुनेछ।

१९.५. प्रत्येक जिल्ला समितिले जिल्लाको पार्टी कामलाई व्यवस्थित र गतिशील बनाउनको लागि समावेशी सिद्धान्तलाई मध्यनजर गर्दै पदाधिकारी सहित बढीमा ११ जना सदस्य रहने गरी जिल्ला कार्य सम्पादन समिति गठन गर्न सक्नेछ।

१९.६. जिल्ला सभामा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, निर्वाचन क्षेत्र संयोजन समितिका संयोजकहरू, अन्य सम्बद्ध समिति सदस्यहरू र जिल्लाभित्रका पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि रहनेछन्।

१९.७ जिल्ला समितिको काम, कर्तव्य र अधिकार

१९.७.१. नियमित बैठक गर्ने, पार्टी बिस्तारको कार्य योजना बनाउने र कार्यान्वयन गर्ने।

१९.७.२. जिल्लाको आवश्यकता र माथिल्लो समितिको निर्देशन अनुसार पार्टीका राजनैतिक तथा संगठनात्मक कामहरूको कार्यान्वयन गर्ने।

१९.७.३. जिल्लाभित्रका पार्टी सदस्यहरूको विवरण र जिम्मेवारी अभिलेखन गर्ने, अद्यावधिक गराउने र प्रदेश समितिलाई उपलब्ध गराउने।

१९.७.४. जिल्ला समितिको अगुवाइमा सम्पन्न राजनीतिक, सामाजिक र संगठनात्मक कामहरूबारे माथिल्लो समितिमा जानकारी गराउने। जिल्लाभित्रका स्थानीय समितिहरूलाई आवश्यक निर्देशन दिने।

१९.७.५. आवश्यकता अनुसार जिल्ला सभाको बैठक आयोजना गर्ने र जिल्लाको कार्य प्रगतिको समीक्षा तथा भावी कार्य योजना पारित गरी कार्यान्वयनको सुनिश्चितता दिने।

१९.७.६. जिल्लाको विकासमा सहभागी हुने, जिल्ला सरकारको काम कारबाहीमा आलोचनात्मक सहकार्य गर्ने र जनताका पक्षमा दृढतापूर्वक रहने।

१९.७.७. सम्बन्धित जिल्लाभित्र पर्ने संसदीय निर्वाचन क्षेत्रहरूमा पार्टीको कामलाई व्यवस्थित बनाउन स्थानीय समितिहरूको समन्वयमा समन्वय समिति गठन गर्ने र आवश्यक नेतृत्व, नीति तथा कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गराउने।

२०. प्रादेशिक समिति  प्रदेश सभा

२०.१. प्रादेशिक अधिवेशनद्वारा प्रत्यक्ष निर्वाचित पदाधिकारीहरू (अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष) सहित बढीमा ५१ सदस्यीय प्रादेशिक समिति गठन हुनेछ।

२०.२. समितिमा न्यूनतम ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनेछ।

२०.३. कुल सदस्य संख्याको बढीमा २० प्रतिशत सदस्यहरू समावेशितालाई पनि मध्यनजर गरी मनोनित गरिनेछ।

२०.४. प्रदेशभित्रका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्ष तथा आंगिक संगठनका प्रदेश प्रमुखहरू प्रदेश समितिमा पदेन सदस्य हुनेछन्।

२०.५. प्रदेश सभामा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला तहका समितिका पदाधिकारी तथा सदस्यहरू, सांसदहरू, सम्बन्धित आयोग सम्बद्ध समितिका सदस्यहरू रहनेछन्।

२०.६. प्रादेशिक समितिको कार्यकाल ४ वर्षको हुनेछ।

२०.७ प्रादेशिक समितिको काम, कर्तव्य  अधिकार

२०.७.१. नियमित रूपमा प्रादेशिक तहको पार्टीको बैठक गर्ने, पार्टी बिस्तारको कार्य योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने।

२०.७.२. प्रादेशको आवश्यकता र माथिल्लो समितिको निर्णय तथा निर्देशन अनुसार राजनीतिक तथा संगठनात्मक निर्णयहरू गर्ने र त्यसको प्रभावकारी ढंगले कार्यान्वयन गराउने।

२०.७.३. अन्तर्गतका समिति र सदस्यहरूको विवरण अद्यावधिक गर्ने र केन्द्रमा पठाउने।

२०.७.४. प्रादेशिक समितिको अगुवाइमा भएका राजनीतिक, सामाजिक र संगठनात्मक कामहरूबारे माथिल्लो समितिमा नियमित प्रतिवेदन पठाउने।

२०.७.५. आवश्यकता अनुसार प्रदेश सभाको बैठक आयोजना गर्ने र प्रदेश सभाले गरेका निर्णयहरू कार्यान्वयन गर्ने।

२०.७.६. प्रदेश तहको विकासमा सहभागी हुने, प्रदेश सरकारसँग आलोचनात्मक सहकार्य गर्ने र जनताका मुद्दाहरूमा दृढतापूर्वक क्रियाशील रहने।

२०.७.७. सम्बन्धित प्रदेशभित्र पर्ने पार्टीको जिल्ला समिति, संघीय तथा प्रादेशिक संसदीय निर्वाचन समन्वय समितिहरूका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वय गर्ने, आवश्यक नेतृत्व तथा निर्देशन दिने।

२०.७.८. प्रदेश स्तरमा संसदीय दलको गठन गरी, राजनीतिक नेतृत्व प्रदान गर्ने।

२०.७.९. प्रदेश तहमा कार्यरत समितिहरूले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउने।

२०.७.१०. प्रदेश तहमा कार्यरत समितिहरू र प्रदेश तहका आङ्गिक सङ्गठनहरूसँग समन्वय गर्ने।

२१. केन्द्रीय समिति

२१.१. राष्ट्रिय महाधिवेशनद्वारा प्रत्यक्ष निर्वाचित १ जना अध्यक्ष, ३ जना उपाध्यक्षहरू (खुला, महिला र समावेशी अन्य), १ जना महासचिव, ३ जना सचिवहरू (खुला, महिला र समावेशी अन्य), १ जना कोषाध्यक्ष र १ जना सह-कोषाध्यक्ष सहित बढीमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ।

२१.२. केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिने छ।

२१.३. कुल केन्द्रीय समिति संख्याको बढीमा ३० प्रतिशत सदस्यहरू अध्यक्षको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्न सक्नेछ।

२१.४. प्रदेश अधिवेशनद्वारा निर्वाचित प्रदेश अध्यक्षहरू केन्द्रीय समितिको पदेन सदस्य रहनेछन्।

२१.५. आङ्गिक संगठनका केन्द्रीय अध्यक्षहरू पार्टीको केन्द्रीय समितिको पदेन सदस्य रहनेछन्।

२१.६. केन्द्रीय समितिको पदावधि ४ वर्षको हुनेछ। प्रतिकूल अवस्था, जस्तै सङ्कटकाल, प्राकृतिक महाविपत्ति, राष्ट्रिय राजनीतिक सङ्कट या केन्द्रीय समितिले अनुमोदन गरेको अन्य कुनै औचित्यपूर्ण कारण भएमा बढीमा ६ महिना केन्द्रीय समितिको कार्यकाल बढाउन सकिनेछ।

२१.७. निर्वाचित तथा मनोनित केन्द्रीय सदस्यहरूको मताधिकार बराबर रहनेछ।

२१.८. कुनै पनि व्यक्तिले समानुपातिक र समावेशी आरक्षणको प्रावधान एउटा समितिका लागि एक पटक मात्र प्रयोग गर्न पाउनेछ।

२१.९ केन्द्रीय समितिको काम, कर्तव्य अधिकार

२१.९.१. महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समिति नै पार्टीको सर्वोच्च कार्यकारी अङ्ग हुनेछ, जसले महाधिवेशनको कार्यदिशा, रणनीति र कार्यक्रमलाई कार्यान्वयन गर्नुका साथै विधानको संरक्षकका रूपमा यसको रक्षा, व्याख्या र प्रयोग गर्नेछ।

२१.९.२. केन्द्रीय समितिले पार्टीको सांगठनिक, राजनीतिक र वैचारिक नेतृत्व गर्नेछ। साथै आवश्यकता अनुसार पार्टी निर्माण, विस्तार, आन्दोलनहरूको घोषणा, अभियानहरूबारे निर्णय गर्ने र कार्यान्वयन गराउनेछ।

२१.९.३. केन्द्रीय समितिले परिस्थितिको मूल्याङ्कन गर्दै विभिन्न राजनीतिक दल र शक्तिहरूसँग समान विचार र कार्य योजनाका आधारमा सहकार्य, एकता र सम्मिलनका लागि आवश्यक निर्णय गर्न सक्नेछ।

२१.९.४. केन्द्रीय समितिले आफ्नो कामलाई व्यवस्थित गर्न केन्द्रीय कार्यसम्पादन समिति गठन गरी आवश्यकता अनुसार कामहरूको अख्तियारी दिन सक्नेछ। साथै, केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन, स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ।

२१.९.५. दलका सबै निकाय तथा सङ्गठनहरूलाई आवश्यक निर्देशन दिने, काम कारबाहीको अभिलेख राख्ने, सुपरिवेक्षण गर्ने र मूल्याङ्कन गर्नेछ।

२१.९.६. समितिले संघीय, प्रादेशिक र स्थानीय सरकार र संसद् सञ्चालनको नीति तर्जुमा गर्न तथा कार्यान्वयन गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ।

२१.९.७. विशेष समितिहरूको गठन गर्नेछ।

२१.९.८. महाधिवेशन र विराट सभाको लागि आवश्यक राजनीतिक तथा प्रशासनिक कार्यहरू गर्नेछ।

२१.९.९. केन्द्रीय समितिले कुनै विषयमा थप स्पष्टता आवश्यक परेमा सम्बन्धित विभाग, समिति वा कार्यदललाई थप प्रष्टताको लागि फिर्ता पठाउन सक्नेछ।

२१.९.१०. सबै केन्द्रीय समिति सदस्यहरूले आर्थिक वर्ष समाप्त भएको मितिले ४५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

२१.९.११. केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू पूर्णकालीन हुनुपर्नेछ।

२२. केन्द्रीय कार्यसम्पादन समिति

२२.१. महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिका पदाधिकारीहरू र अध्यक्षको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गरेका थप केन्द्रीय समिति सदस्यहरू र पदेन सदस्यहरू गरी २१ सदस्यसम्मको केन्द्रीय कार्यसम्पादन समिति गठन हुनेछ।

२२.२. प्रदेश समितिका अध्यक्षहरू तथा केन्द्रीय समितिका प्रवक्ता केन्द्रीय कार्य सम्पादन समितिका पदेन सदस्य हुनेछन्।

२२.३ केन्द्रीय कार्यसम्पादन समितिको काम, कर्तव्य  अधिकार

२२.३.१. केन्द्रीय समितिको बैठक नबसेको अवस्थामा सो समितिका सम्पूर्ण अधिकारहरू केन्द्रीय कार्य सम्पादन समितिले प्रयोग गर्नेछ, जसलाई अर्को केन्द्रीय समितिको बैठकमा जानकारी या अनुमोदनका लागि प्रस्तुत गर्नुपर्नेछ।

२२.३.२. केन्द्रीय कार्यसम्पादन समितिले सदस्यहरूको कार्य विभाजन, समिति, उपसमिति, कार्यदल तथा विभागहरूको गठन, पुनर्गठन तथा कार्यविधिहरू निर्माण गरी काम-कारबाही गर्न गराउन सक्नेछ।

२२.३.३. पार्टीको दैनिक कार्य सञ्चालन र व्यवस्थापनका लागि आवश्यक निर्णयहरू गर्ने र कार्यान्वयन गराउनेछ।

२२.३.४. निर्वाचन एवं संसदीय मामिला सम्बन्धी आवश्यक निर्णय गर्नेछ।

२२.३.५. आवश्यकता अनुसार आचारसंहिता र निर्देशिका निर्माण गरि लागू गर्नेछ ।

२२.३.६. केन्द्रीय समितिले अख्तियारी प्रदान गरेका अन्य जिम्मेवारीहरू निर्वाह गर्नेछ।

२३. विराट सभा

२३.१. विराट सभामा केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय समिति सदस्यहरू, केन्द्रीय संसद्का दुवै सदनका सांसदहरू, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला अध्यक्षहरू, परामर्श परिषद्का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, उपमहानगरपालिका प्रमुखहरू, महानगरपालिकाका प्रमुखहरू र आंगिक संगठनका केन्द्रीय अध्यक्षहरू सदस्य हुनेछन्।

२३.२. विराट सभाको बैठकमा पदेन सदस्य संख्याको १० प्रतिशत सदस्यहरू केन्द्रीय समितिले अध्यक्षको सिफारिसमा मनोनयन गर्न सक्नेछ। यस्तो मनोनयन गर्दा समावेशितालाई मध्यनजर गरिनु पर्नेछ।

२३.३. आवश्यकता अनुसार विराट सभाको बैठक आयोजना गरिनेछ। बैठकको मिति, स्थान, कार्य तालिका र कार्यसूची केन्द्रीय समितिले तय गरेअनुसार हुनेछ। सोबारे कम्तिमा एक महिना अगाडी नै सभा सदस्यहरूलाई सूचित गर्नुपर्नेछ।

२३.४. विशेष अवस्थामा केन्द्रीय समितिले आवश्यकता अनुसार बैठकको आह्वान गर्न सक्नेछ।

२३.५. विराट सभाको अध्यक्षता पार्टीको केन्द्रीय अध्यक्षले गर्नेछन्।

२३.६. विराट सभाका २० प्रतिशत सदस्यहरूले बैठक हुनुभन्दा १० दिन अगावै विराट सभामा छलफलका लागि थप प्रस्ताव दर्ता गराउन सक्नेछन्।

२३.७ विराट सभाको काम, कर्तव्य  अधिकार

२३.७.१. विराट सभा मुख्यतः पार्टीको विधायीकी अङ्ग हुनेछ, जसले पार्टीका आवश्यक नीतिहरू बनाउने वा केन्द्रीय समितिले प्रस्ताव गरेका नीतिहरूलाई पारित गर्ने वा अनुमोदन गर्ने, पार्टीको वार्षिक कार्यक्रम र कार्य योजनामाथि छलफल गरी पारित गर्ने काम गर्नेछ।

२३.७.२. विराट सभामा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आयव्यय विवरण प्रस्तुत गरी पारित गरिनेछ।

२३.७.३. पार्टीको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूमाथि कुनै अभियोग लागेमा वा कसैलाई फिर्ता बोलाउनु पर्ने भएमा सो बारेमा कार्यविधि अनुसार विराट सभाले निर्णय गर्नेछ।

२४. राष्ट्रिय महाधिवेशन

२४.१. महाधिवेशन पार्टीको सर्वोच्च अङ्ग हुनेछ, जो प्रत्येक ४ वर्षमा एक पटक आयोजना गरिने छ।

२४.२. पार्टीमा काबु बाहिरको अवस्थामा आएमा वा देशमा कुनै विपत्ति जस्तै सङ्कटकाल, प्राकृतिक महाविपत्ति वा राजनीतिक सङ्कट आदि आएमा या केन्द्रीय समितिले अनुमोदन गरेको अन्य कुनै औचित्यपूर्ण कारण भएमा महाधिवेशनको अवधि केन्द्रीय समितिको निर्णयबाट बढीमा ६ महिनाका लागि बढाउन सकिनेछ।

२४.३. बढाइएको ६ महिना भित्र पनि महाधिवेशन र अधिवेशन गर्न नसक्ने स्थिति रहेमा आयोजक समितिहरू स्वतः विघटन भई पुरानै कार्य समितिले साबिककै अवस्थामा कार्य प्रारम्भ गर्नेछ।

२४.४. महाधिवेशनमा पार्टीको सैद्धान्तिक/वैचारिक प्रस्ताव, नीति, रणनीति, विधान, संगठनात्मक तथा राजनीतिक प्रतिवेदन र आयव्यय विवरण माथि छलफल गरी पारित गरिने छ।

२४.५. महाधिवेशनले पार्टीको केन्द्रीय समितिको निर्वाचन गर्नेछ। निर्वाचन सार्वभौम सदस्यहरूको प्रत्यक्ष मतदानबाट सम्पन्न हुनेछ।

२४.६. महाधिवेशनमा हुने सदस्यहरूको सहभागिता, महाधिवेशनको कार्य प्रक्रिया, कार्य तालिका र निर्वाचन प्रणाली सम्बन्धी व्यवस्था सम्बन्धित नीति, निर्देशिका र कार्यविधिमा उल्लेख भएअनुसार हुनेछ।

२४.७. केन्द्रीय समितिका सदस्यहरू, प्रादेशिक कार्य सम्पादन समितिका सदस्यहरू तथा आङ्गिक संगठनका केन्द्रीय अध्यक्षहरू राष्ट्रिय महाधिवेशन आयोजक समितिका पदेन सदस्य हुनेछन्। अध्यक्षको सिफारिसमा महाधिवेशन आयोजक समितिको संख्याको बढीमा १५ प्रतिशत सदस्यहरू आयोजक समितिको बहुमतबाट मनोनित हुनेछन्।

भाग – ६

समन्वयकारी समितिहरू  आङ्गिक संगठन

२५. निर्वाचन क्षेत्र संयोजन समिति

२५.१. प्रत्येक निर्वाचन क्षेत्रको सीमाभित्र पर्ने गाउँपालिका र नगरपालिका समितिका पदाधिकारीहरू, तथा निर्वाचन क्षेत्रको सीमाभित्र पर्ने गाउँपालिका र नगरपालिकाका आङ्गिक संगठनका अध्यक्षहरू तथा प्रत्यक्ष निर्वाचित र समानुपातिक जनप्रतिनिधिहरू पदेन सदस्य रहने निर्वाचन क्षेत्र संयोजन समिति गठन गरिने छ।

२५.२. निर्वाचन क्षेत्र संयोजन समितिको संयोजक र सचिव समितिका सदस्यहरूमध्येबाट निर्वाचित हुनेछन्।

२५.३. निर्वाचन क्षेत्र समन्वय समितिको कार्यकाल बढीमा ५ वर्षको हुनेछ।

२५.४. निर्वाचन क्षेत्र समन्वय समितिको काम, कर्तव्य र अधिकार नीति, नियम र निर्देशिकामा तोकिए बमोजिम हुनेछ।

२६. संसदीय दल

२६.१. पार्टीले तहगत निर्वाचनमा प्रत्यक्ष निर्वाचित, मनोनित वा उम्मेदवार सम्मिलित तहगत संसदीय दलको गठन गर्नेछ।

२६.२. संसदीय दलको कार्य संचालन र व्यवस्थापन नेपाल सरकारको प्रचलित कानुन, दलको विधान, नीति र निर्देशिकामा उल्लेख भएअनुसार हुनेछ।

२६.३. संसदीय दलको कार्यकाल ५ वर्षको हुनेछ।

२७. केन्द्रीय परामर्श परिषद्

२७.१. केन्द्रीय समितिले आवश्यक राजनीतिक तथा विषयगत सल्लाह, सुझाव र पृष्ठपोषण लिनका लागि प्रेरणादायी राजनीतिक, सामाजिक व्यक्तित्व र विषय विज्ञहरू सम्मिलित एक परामर्श परिषद् गठन गर्न सक्नेछ।

२७.२. केन्द्रीय समितिको कार्य तालिका अनुसार वर्षमा न्यूनतम दुई पटक परिषद्को बैठक बोलाई आवश्यक विषयमा छलफल, अन्तरक्रिया र पृष्ठपोषण लिन सकिनेछ।

२७.३. केन्द्रीय परामर्श परिषद् बढीमा ३५ सदस्यीय हुनेछ।

२७.४. केन्द्रीय परामर्श परिषद्का सदस्यहरूलाई पार्टीको सदस्य हुन अनिवार्य गरिने छैन।

२७.५. केन्द्रीय परामर्श परिषद् संचालन र व्यवस्थापन निर्देशिकामा तोकिए बमोजिम हुनेछ।

२८. आङ्गिक संगठन

२८.१. पार्टीका सहयोगी अङ्गको रूपमा आङ्गिक संगठनहरू गठन गरिने छ।

२८.२. आङ्गिक सङ्गठनहरूलाई पार्टीले राजनीतिक नेतृत्व दिनेछ। तर संगठनहरू आफ्नै विधानका आधारमा संचालन हुनेछन्।

२८.३. आङ्गिक संगठनका विधान तथा वैचारिक मार्ग पार्टीको मूल विधान तथा वैचारिक धारसँग बाझिएको हकमा आङ्गिक सङ्गठनको विधान तथा वैचारिक मार्गका सम्बन्धित प्रावधान स्वतः खारेज हुनेछन्।

२८.४. पार्टी विधान र राजनीतिक दृष्टिकोणको मर्म, मूल्य तथा मान्यता विपरीत आङ्गिक सङ्गठनले गतिविधि संचालन गरेमा पार्टीको केन्द्रीय समितिले सचेत गराउने देखि खारेजसम्म गर्न सक्नेछ।

२८.५. आङ्गिक संगठनका तहगत प्रमुखहरू सम्बन्धित तहको पार्टीको पदेन कार्यसमिति सदस्य हुनेछन्।

२८.६. आङ्गिक संगठन र पार्टीको सम्बन्धलाई व्यवस्थित बनाउन पार्टीले आवश्यक थप संयन्त्र बनाउन सक्नेछ।

२८.७. कुनै पनि नयाँ आङ्गिक संगठन गठन गर्न आवश्यक ठानिएमा आवश्यक गृहकार्य गरी केन्द्रीय समितिले निर्णय लिन सक्नेछ।

२८.८. हाललाई निम्न आङ्गिक संगठनहरू क्रियाशील हुनेछन्:

२८.८.१. युवा संगठन।

२८.८.२. महिला संगठन।

२८.८.३. ज्येष्ठ नागरिक संगठन।

२९. सद्भाव समूह

२९.१. विदेशमा विभिन्न कारणले बसोबास गर्ने विवेकशील साझा पार्टीका शुभेच्छुक, सहयोगी र सदस्यहरूको संगठित समूहलाई सद्भाव समूह भनिने छ।

२९.२. स्थानीय, क्षेत्रीय, राष्ट्रिय सद्भाव समूहहरूको नेतृत्व ‘विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह’ले गर्नेछ। राष्ट्रिय सद्भाव समूहलाई विवेकशील साझा सद्भाव समूह, देशको नाम भनेर उल्लेख गरिनेछ। राष्ट्रिय समिति भन्दा तलका संगठनहरू यसै गरि सद्भाव समूह, तहको नामले चिनिने छन्।

२९.३. सद्भाव समूहका सदस्यहरूलाई पार्टीको सदस्यता लिन अनिवार्य गरिने छैन।

२९.४. तर सद्भाव समूहका सदस्यहरूले पार्टीको वैधानिक कार्यक्रम र बैठकहरूमा भाग लिन तथा विधानले सदस्यलाई प्रदान गरेका अधिकारहरू उपयोग गर्न पार्टीको सदस्यता लिनु पर्नेछ। पार्टी सदस्यता नलिएका सद्भाव समूहका सदस्यले पार्टी सदस्यको हैसियतमा प्राप्त गर्ने अधिकार उपयोग गर्न पाउने छैनन्।

२९.५. सद्भाव समूहलाई पार्टीले राजनैतिक नेतृत्व दिनेछ। र, सद्भाव समूह सञ्चालनका लागि पार्टीले छुट्टै सद्भाव समूह सञ्चालन निर्देशिका बनाई कार्यान्वयन गर्नेछ।

२९.६. सद्भाव समूह सञ्चालन निर्देशिका र त्यसका प्रावधानहरू पार्टीको मूल विधान तथा वैचारिक मार्गसँग बाझिएको हकमा निर्देशिकाका सम्बन्धित प्रावधान स्वतः खारेज हुनेछन्।

२९.७. पार्टी विधान तथा राजनीतिक धारको मर्म, मूल्य तथा मान्यता विपरीत सद्भाव समूहले गतिविधि संचालन गरेमा पार्टीको केन्द्रीय समितिले सचेत गराउने देखि खारेजसम्म गर्न सक्नेछ।

२९.८. सद्भाव समूह र पार्टीबिचको सम्बन्धलाई व्यवस्थित बनाउन पार्टीले आवश्यक संयन्त्र बनाउन सक्नेछ।

२९.९. विवेकशील साझा सद्भाव समूह अन्तर्राष्ट्रिय समितिका संयोजक चयन सद्भाव समूहहरूको पहिलो अधिवेशन नभएसम्म सद्भाव समूहका बहुमत राष्ट्रिय समितिहरूको सिफारिसका आधारमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गर्नेछ। अन्य सबै नेतृत्व सद्भाव समूह सञ्चालन निर्देशिकामा उल्लेख भए अनुसार हुनेछ।

२९.१०. पार्टीले अन्तर्राष्ट्रिय सद्भाव समूहको अन्तर्राष्ट्रिय समितिलाई आठौँ प्रदेश सरहको मान्यता दिनेछ। अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजक पार्टीको केन्द्रीय कार्य सम्पादन समितिका आमन्त्रित सदस्य हुनेछन्।

२९.११ सद्भाव समूहको काम, कर्तव्य  अधिकार

२९.११.१. सद्भाव समूहले पार्टीको राजनीतिक, वैचारिक विषय र मुद्दाहरूको पक्षमा देशभित्र र बाहिर पैरवी गर्नेछ।

२९.११.२. सद्भाव समूहले विषयगत ज्ञान र दक्षताको माध्यमबाट पार्टीका नीतिगत सवालहरूमा पृष्ठपोषण र पार्टीलाई आर्थिक योगदान गर्नेछ।

२९.११.३. सद्भाव समूहले विदेशमा बस्ने नेपालीहरूको हक, अधिकार र स्वाभिमानका लागि आवश्यक राजनीतिक पहलकदमी लिनेछ।

२९.११.४. सद्भाव समूहले नेपाल र आफू बसेको देशको कानुन र आफ्नो पेसाको सीमाभित्र रहेर नेपालीहरूलाई पार्टीको सदस्यता लिन र पार्टीलाई सकेको आर्थिक सहयोग गर्न उत्प्रेरित गर्नेछ।

२९.११.५. सद्भाव समूहको थप काम, कर्तव्य, अधिकार र कार्य प्रक्रिया सद्भाव समूह सञ्चालन निर्देशिकामा उल्लेख भएअनुसार हुनेछ।

३०. केन्द्रीय विभागहरू

३०.१. केन्द्रीय कार्य सम्पादन समितिले तत्कालीन कामको आवश्यकता र परिस्थिति अनुसार विभागहरू गठन गरी निश्चित कार्य विवरण सहित क्रियाशील गर्न सक्नेछ।

३०.२. केन्द्रीय कार्य सम्पादन समितिले गठन गरेका विभागहरू मध्येबाट कार्यक्षेत्रको परिवेश, आवश्यकता र स्थानीय कार्यनीति अनुसार प्रदेश र जिल्ला समितिहरूले पनि आवश्यक विभागहरू गठन गर्न सक्नेछन्।

३०.३. विभागहरू पार्टीका सम्बन्धित तहगत कार्य समितिप्रति उत्तरदायी हुनेछन्।

३०.४. विभाग सम्बन्धी अन्य व्यवस्था केन्द्रीय समितिले जारी गरेको विभाग गठन सम्बन्धी निर्देशिकामा उल्लेख भए अनुसार हुनेछ।

भाग – ७

३१. न्याय तथा अनुशासन समिति

३१.१. पार्टीभित्र मूल्य मान्यताको रक्षा गर्न, सुशासन स्थापना र आन्तरिक अनुशासनको सुनिश्चितताका लागि केन्द्रीय समितिले न्याय तथा अनुशासन समिति गठन गर्नेछ। न्याय तथा अनुशासन समिति गठन नभएको अवस्थामा न्याय तथा अनुशासन समितिसँग सम्बन्धित विषयहरू केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि सम्पादन गर्नेछ।

३१.२. पार्टीको आचारसंहिता पालना गराउन र अनुशासन कायम राख्न केन्द्रीय समितिले आफू मध्येबाट पाँच सदस्यीय केन्द्रीय न्याय तथा अनुशासन समिति गठन गर्नेछ। जसमा १ जना संयोजक र चार जना सदस्यहरू रहनेछन्। समितिका सदस्यहरूको नियुक्ति केन्द्रीय समितिले गर्नेछ। सदस्यहरू मनोनित गर्दा उनीहरूको पृष्ठभूमि, सम्बन्धित क्षेत्रको विज्ञता र दक्षतालाई विशेष ध्यान दिनुपर्नेछ।

३१.३. प्रदेश र जिल्ला समितिमा न्याय तथा अनुशासन समिति रहनेछ। प्रदेश तथा जिल्ला समितिमा संयोजक सहित ३ जना सदस्यहरू हुनेछन्।

३१.४. समितिका सदस्यहरूको चयन सम्बन्धित तहका कार्य समितिहरूले गर्नेछन्।

३१.५. समितिहरू तहगत कार्य समिति र महाधिवेशन वा अधिवेशनप्रति उत्तरदायी हुनेछन्।

३१.६. न्याय तथा अनुशासन समितिको काम तथा कर्तव्य तथा अधिकार

३१.६.१. न्याय तथा अनुशासन समितिहरूले मुख्यतः पार्टीभित्र विधान, नीति नियम र निर्देशिकाको कार्यान्वयनका लागि प्रतिबद्ध रहँदै पार्टीमा तहगत अनुशासन प्रवर्द्धनका लागि काम गर्नेछन्।

३१.६.२. न्याय तथा अनुशासन समितिको काम, कर्तव्य र कार्य सञ्चालन सम्बन्धमा पार्टीले छुट्टै निर्देशिका बनाई कार्यान्वयन गर्नेछ।

३१.६.३. प्रदेश तथा जिल्ला न्याय तथा अनुशासन समितिले गरेका निर्णयहरू चित्त नबुझेमा माथिल्लो तहको समिति हुँदै केन्द्रीय न्याय तथा अनुशासन समितिसम्म पुनरावेदन गर्न सकिने छ। यदि केन्द्रीय न्याय तथा अनुशासन समितिको निर्णय चित्त नबुझेमा सो को सूचना पाएको मितिले ३५ दिन भित्रमा केन्द्रीय समितिमा पुनरावेदन दिन सकिनेछ र केन्द्रीय समितिको निर्णय नै अन्तिम हुनेछ।

३१.६.४. केन्द्रीय न्याय तथा अनुशासन समितिले आफ्ना केहि अधिकार प्रदेश वा जिल्ला अनुशासन समितिलाई प्रत्यायोजन गर्न सक्नेछ।

३१.६.५. न्याय तथा सुशासन समितिको निर्णय कार्यान्वयन गर्नु तहगत समितिहरूको कर्तव्य हुनेछ।

३१.६.६. न्याय तथा अनुशासन समितिको काम चित्त नबुझेमा, विधानसँग बाझिन गएमा वा पार्टीको हित विपरीत भएमा पार्टीको केन्द्रीय समितिको बहुमतले समितिको निर्णय पुनरावलोकन या समिति नै खारेज गरि नयाँ समिति गठन गर्न सक्नेछ।

३२. निर्वाचन समिति

३२.१. पार्टीभित्र सबै तहका निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले केन्द्रीय निर्वाचन समिति गठन गर्नेछ।

३२.२. निर्वाचन समिति केन्द्र, प्रदेश र जिल्ला तहमा गठन गरिनेछ। केन्द्रमा निर्वाचन समितिमा १ संयोजक सहित ५ जना सदस्यहरू हुनेछन्। प्रदेश र जिल्ला तहमा संयोजक सहित ३ जना सदस्यहरू रहनेछन्।

३२.३. समितिका सदस्यहरूको चयन सम्बन्धित तहका कार्य समितिहरूले गर्नेछन्।

३२.४. समितिहरू तहगत कार्यसमितिप्रति उत्तरदायी हुनेछन्।

३२.५. निर्वाचन समितिको काम, कर्तव्य तथा अधिकार

३२.६.१. पार्टीको केन्द्रीय समिति वा तहगत समितिको निर्णयअनुसार गरिने निर्वाचनहरूलाई निष्पक्ष र प्रभावकारी ढंगले संचालन गर्ने।

३२.६.२. पार्टीका निर्वाचन सम्बन्धी नीति नियम तथा आचारसंहिताको कडाइका साथ पालना गर्ने गराउने र सो को उल्लङ्घन भएमा अनुशासनको विषय बनाई कारबाहीका लागि सम्बन्धित तहमा सिफारिस गरि पठाउने।

३२.६.३. पार्टीले निर्वाचन आयोग सञ्चालनका लागि आवश्यक नीति, नियम, कार्यविधि तथा आचारसंहिता बनाई कार्यान्वयनको सुनिश्चितता गर्नेछ।

३२.६.४. कुनै पनि तहको निर्वाचनमा निर्वाचन समितिमा रहेका व्यक्तिहरू सम्बन्धित तहको निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न पाउने छैनन्।

३२.६.५. निर्वाचन समितिको काममा चित्त नबुझेमा, विधानसँग बाझिन गएमा सो उपर पार्टीको केन्द्रीय समितिमा पुनरावेदन गर्न सकिनेछ र केन्द्रीय समितिले छानबिन गरि निर्णय गर्नेछ।

३३. लेखा परीक्षण समिति

३३.१. पार्टीको आर्थिक कारोबारलाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाउन केन्द्रीय समितिले एक लेखा परीक्षण समिति गठन गर्नेछ।

३३.२. लेखा परीक्षण समिति केन्द्र, प्रदेश र जिल्ला तहमा हुनेछ। केन्द्रीय लेखा परीक्षण समितिमा संयोजक सहित ५ सदस्य रहनेछन्। प्रदेश र जिल्ला तहमा संयोजक सहित ३ सदस्य रहनेछन्।

३३.३. समितिहरू तहगत कार्यसमितिप्रति उत्तरदायी हुनेछन्।

३३.४. लेखा परीक्षण समितिको गठन र सो को काम कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ।

३३.५. समितिको काममा चित्त नबुझेमा, विधानसँग बाझिन गएमा वा पार्टीको हित विपरीत भएमा पार्टीको केन्द्रीय समितिले खारेज गरि नयाँ समिति गठन सक्नेछ।

भाग – ७

पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

३४. केन्द्रीय अध्यक्षको काम, कर्तव्य र अधिकार

३४.१. पार्टीको नेतृत्व गर्ने: पार्टीको संगठन, रणनीति, कार्यनीति र कार्य विभाजनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

३४.२. आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरि कार्यसम्पादन समिति र केन्द्रीय समितिको बैठकको प्रस्ताव निर्धारण गरि बैठक बोलाउने।

३४.३. केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय समिति, विराट सभा तथा केन्द्रीय समितिले आयोजना गरेका बैठकहरूको अध्यक्षता गर्ने।

३४.४. केन्द्रीय समिति र कार्यसम्पादन समितिमा कुनै पनि प्रस्तावमा छलफल भई मतदान हुँदा मत बराबर भएमा निर्णायक मत दिने र बैठकका निर्णयहरू प्रमाणीकरण गर्ने।

३४.५. पार्टीको सम्बन्ध, सम्पर्क बिस्तार, जनमत निर्माण, विभिन्न पक्षहरूसँग राजनीतिक सम्बन्ध स्थापना, वार्ता र पार्टीको आधिकारिक मञ्चहरूमा राजनीतिक वैचारिक कार्यदिशा र प्रस्तावहरूको प्रस्तुति र व्याख्या गर्ने।

३४.६. आवश्यकता अनुसार आफ्नो अधिकार उपाध्यक्ष मध्ये कुनै एकमा प्रत्यायोजन गर्ने।

३५. उपाध्यक्षको काम, कर्तव्य र अधिकार

३५.१. अध्यक्षको अनुमतिमा अध्यक्षले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्ने।

३५.२. केन्द्रीय समितिले तोकेको आवश्यक जिम्मेवारी लिने।

३६. महासचिवको काम, कर्तव्य र अधिकार

३६.१. महासचिवले मुख्यतः पार्टीको संगठनात्मक तथा व्यवस्थापकीय नेतृत्व गर्नेछन्।

३६.२. केन्द्रीय कार्य सम्पादन समिति, केन्द्रीय समिति तथा केन्द्रीय समितिले आयोजना गरेका बैठकहरू संचालन गर्ने, अध्यक्षद्वारा निर्धारित प्रस्ताव प्रस्तुत गर्ने तथा निर्णयहरूको अभिलेखन गर्ने।

३६.३. पार्टीका सम्पूर्ण अभिलेखहरूको सङ्ग्रह तथा संरक्षण गर्ने।

३६.४. बैठकका निर्णयहरू कार्यान्वयन गर्न पत्राचार गर्ने, पृष्ठपोषण दिने, निर्णयहरूको व्याख्या गर्ने र निर्णय कार्यान्वयनको अनुगमन मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने।

३६.५. महाधिवेशनमा पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने।

३६.६. पार्टीको तर्फबाट आवश्यकता अनुसार आधिकारिक पत्राचार गर्ने।

३६.७. आवश्यकता अनुसार आफ्नो अधिकार सचिव मध्ये कुनै एकलाई प्रत्यायोजन गर्ने।

३७. सचिवहरूको काम, कर्तव्य र अधिकार

३७.१. महासचिवको अनुपस्थितिमा निजले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्ने।

३७.२. केन्द्रीय समितिले तोकेको जिम्मेवारी वहन गर्ने।

३८. कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

३८.१. पार्टीको आर्थिक नियमावली अनुसार आम्दानी र खर्चको प्रभावकारिता, पारदर्शिता र आर्थिक सुशासनको सुनिश्चितता दिने। र, आर्थिक कार्य प्रगति विवरण केन्द्रीय समितिमा प्रस्तुत गर्ने।

३८.२. सह-कोषाध्यक्षसँग परामर्श गरी विराट सभा तथा महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने।

३८.३. पार्टीको निम्ति आवश्यक आर्थिक श्रोत साधनको व्यवस्थापन गर्ने, त्यसको संरक्षण संवर्द्धन गर्ने र सम्पूर्ण आय-व्ययको अभिलेख राख्ने।

३८.४. सङ्कलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चको लागि निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने।

३८.५. केन्द्रीय समितिले निर्णय गरे अनुसार पार्टीको सम्पूर्ण आर्थिक प्रणाली र बैङ्क खाता संचालन गर्ने।

३८.६. लेखा परीक्षण आयोगलाई सहयोग गर्ने।

३९. सह-कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

३९.१. कोषाध्यक्षको अनुपस्थितिमा निजले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्ने।

३९.२. केन्द्रीय समितिले तोकेको विभागीय जिम्मेवारी वहन गर्ने।

४०. केन्द्रीय प्रवक्ता

४०.१. अध्यक्षको सिफारिसमा केन्द्रीय समितिले आफूमध्येबाट एक जना प्रवक्ता चयन गर्नेछ।

४०.२. केन्द्रीय प्रवक्ता केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुनेछन्।

४०.३. केन्द्रीय प्रवक्ताले आवश्यकता अनुसार केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्नेछन्।

४०.४. केन्द्रीय प्रवक्ताले नेपाल तथा विश्वको समसामयिक राजनीतिक घटनाको बारेमा सञ्चार माध्यम तथा आम नागरिकमाझ पार्टीको धारणा व्यक्त गर्नेछन्।

४०. केन्द्रीय प्रवक्ता

प्रादेशिक पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

४१. प्रदेश अध्यक्षको काम, कर्तव्य र अधिकार

४१.१. प्रादेशिक कार्य सम्पादन समिति, प्रदेश समिति तथा प्रदेश समितिले आयोजना गरेका हरेक बैठकका लागि आवश्यकता अनुसार प्रदेश पदाधिकारीहरूसँग परामर्श गरेर बैठकको प्रस्ताव तयार गर्ने, बैठकका प्रस्तावहरूमाथि छलफल चलाउने र निर्णयहरूको कार्यान्वयनको नेतृत्व प्रदान गर्ने।

४१.२. बैठकमा कुनै पनि प्रस्तावमाथि छलफल गर्दा मत बराबर भएमा निर्णायक मत दिने।

४१.३. प्रदेश तहमा पार्टीको तर्फबाट राजनीतिक तथा नीतिगत विषयहरूमा नेतृत्व गर्ने।

४१.४. प्रदेश समितिको तर्फबाट प्रदेश सभा र प्रदेश अधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने। र, पारित कार्य योजना कार्यान्वयनको नेतृत्व लिने।

४१.५. आवश्यकता अनुसार आफ्नो अधिकार प्रदेश उपाध्यक्षमा प्रत्यायोजन गर्ने।

४२. प्रदेश उपाध्यक्षको काम, कर्तव्य र अधिकार

४२.१. प्रदेश अध्यक्षले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्ने।

४२.२. प्रदेश समितिले तोकेको जिम्मेवारी निर्वाह गर्ने।

४३. प्रदेश सचिवको काम, कर्तव्य र अधिकार

४३.१. प्रदेश संगठन विभागको नेतृत्व गर्ने। संगठन विभागको कार्य प्रगति विवरण प्रदेश समितिमा प्रस्तुत गर्ने र प्रदेश सभा तथा प्रदेश अधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने।

४३.२. प्रदेश तहमा पार्टीका सम्पूर्ण अभिलेखहरूको सङ्ग्रह तथा संरक्षण गर्ने।

४३.३. प्रदेश तहका बैठकका निर्णयहरू कार्यान्वयन गर्न पत्राचार गर्ने, पृष्ठपोषण दिने, निर्णयहरूको व्याख्या गर्ने, सङ्गठनको समग्र लेखाजोखा राख्ने र निर्णय कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने।

४३.४. पार्टीको तर्फबाट आधिकारिक पत्राचार गर्ने।

४४. प्रदेश कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

४४.१. पार्टीको आर्थिक नियमावली अनुसार आम्दानी र खर्चको प्रभावकारिता, पारदर्शिता र आर्थिक सुशासनको सुनिश्चितता दिने। र, आर्थिक कार्य प्रगति विवरण प्रदेश समितिमा प्रस्तुत गर्ने।

४४.२. अधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने।

४४.३. प्रदेश तहमा पार्टीको निम्ति आवश्यक आर्थिक श्रोत साधनको व्यवस्थापन गर्ने, त्यसको संरक्षण तथा संवर्द्धन गर्ने तथा सम्पूर्ण आय-व्ययको अभिलेख राख्ने।

४४.४. सङ्कलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चको लागि समितिको निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने।

४४.५. प्रदेश समितिले निर्णय गरे अनुसार पार्टीको सम्पूर्ण आर्थिक प्रणाली र बैङ्क खाता सञ्चालन गर्ने।

४४.६. लेखा प्रतिवेदन निर्माणमा लेखा परीक्षण समितिलाई सहयोग गर्ने।

४५. प्रदेश कार्य सम्पादन समिति

४५.१. प्रदेश पदाधिकारी र प्रदेश समितिले चयन गरेको सदस्यहरू सहित ११ जनाको प्रदेश कार्य सम्पादन समिति गठन गरिनेछ। कार्य सम्पादन समिति गठन गर्दा समावेशितालाई ध्यानमा राख्नु पर्नेछ।

४६. प्रदेश कार्य सम्पादन समितिको काम, कर्तव्य र अधिकार

४६.१. प्रदेश समितिले अख्तियारी दिएको अधिकार उपभोग गर्ने।

४६.२. प्रदेश समितिको बैठक नबसेको अवस्थामा प्रदेश समितिप्रति उत्तरदायी हुने गरि आवश्यक निर्णयहरू गर्ने र त्यस्ता निर्णयहरू अनुमोदनका लागि प्रदेश समितिमा प्रस्तुत गर्ने।

४६.३. प्रदेश समितिले निर्णय अनुमोदन नगरेको हकमा प्रदेश कार्य सम्पादन समितिले गरेका निर्णयहरू स्वतः बदर हुनेछन्।

जिल्ला पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

४७. जिल्ला अध्यक्षको काम, कर्तव्य र अधिकार

४७.१. जिल्ला तहको कार्य सम्पादन समिति, जिल्ला समिति तथा जिल्ला समितिको बैठकका लागि आवश्यकता अनुसार जिल्ला पदाधिकारीहरूसँग परामर्श गरेर प्रस्ताव तयार गर्ने। प्रस्तावहरूमाथि छलफल चलाउने र निर्णयहरू कार्यान्वयन गर्न नेतृत्व प्रदान गर्ने।

४७.२. बैठकमा कुनै पनि प्रस्तावमाथि छलफल गर्दा मत बराबर भएमा निर्णायक मत दिने।

४७.३. जिल्ला तहमा पार्टीको तर्फबाट राजनीतिक नेतृत्व गर्ने।

४७.४. जिल्ला समितिको तर्फबाट जिल्ला सभा तथा अधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने। र, अधिवेशनको निर्णय कार्यान्वयन गराउने।

४७.५. आवश्यकता अनुसार आफ्नो अधिकार जिल्ला उपाध्यक्षमा प्रत्यायोजन गर्ने।

४८. जिल्ला उपाध्यक्षको काम, कर्तव्य र अधिकार

४८.१. अध्यक्षले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्ने।

४८.२. जिल्ला समितिले दिएको जिम्मेवारी पुरा गर्ने।

४९. जिल्ला सचिवको काम, कर्तव्य र अधिकार

४९.१. जिल्ला संगठन विभागको नेतृत्व गर्ने। संगठन विभागको कार्य प्रगति विवरण जिल्ला समितिमा पेस गर्ने। जिल्ला सभा तथा जिल्ला अधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने।

४९.२. पार्टीका सम्पूर्ण अभिलेखहरूको सङ्ग्रह तथा संरक्षण गर्ने।

४९.३. जिल्ला तहका बैठकका निर्णयहरू कार्यान्वयन गर्न पत्राचार गर्ने, पृष्ठपोषण दिने, निर्णयहरूको व्याख्या गर्ने, र निर्णय कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने।

४९.४. जिल्ला पार्टीको तर्फबाट आधिकारिक पत्राचार गर्ने।

५०. जिल्ला कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

५०.१. पार्टीको आर्थिक नियमावली अनुसार जिल्लाको आम्दानी र खर्चको प्रभावकारिता, पारदर्शिता र आर्थिक सुशासनको सुनिश्चितता दिने। र, आर्थिक कार्य प्रगति विवरण जिल्ला समितिमा प्रस्तुत गर्ने।

५०.२. जिल्ला अधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने।

५०.३. जिल्ला तहमा पार्टीको निम्ति आवश्यक आर्थिक श्रोत साधनको व्यवस्थापन गर्ने, त्यसको संरक्षण तथा संवर्द्धन गर्ने तथा सम्पूर्ण आय-व्ययको अभिलेख राख्ने।

५०.४. सङ्कलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चको लागि जिल्ला समितिको निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने।

५०.५. जिल्ला समितिले निर्णय गरे अनुसार पार्टीको सम्पूर्ण आर्थिक प्रणाली र बैङ्क खाता संचालन गर्ने।

५०.६. लेखा प्रतिवेदन निर्माणमा जिल्ला लेखा परीक्षण समितिलाई सहयोग गर्ने।

५१. जिल्ला कार्य सम्पादन समिति

५१.१. जिल्ला पदाधिकारी र जिल्ला समितिले आफूमध्येबाट चयन गरेको सदस्यहरू सहित ९ जनाको जिल्ला कार्य सम्पादन समिति गठन गरिनेछ। कार्य सम्पादन समिति गठन गर्दा समावेशितालाई ध्यानमा राख्नु पर्नेछ।

५१.२. जिल्ला कार्य सम्पादन समितिको काम, कर्तव्य र अधिकार

५१.२.१. जिल्ला समितिले अख्तियारी दिएको अधिकार उपभोग गर्ने।

५१.२.२. जिल्ला समितिप्रति उत्तरदायी हुने गरि जिल्ला समितिको बैठक नबसेको अवस्थामा जिल्ला समितिको अधिकार प्रयोग गरी आवश्यक निर्णय गर्ने र यस्तो निर्णयहरू अनुमोदनका लागि जिल्ला समितिमा प्रस्तुत गर्ने।

५१.२.३. जिल्ला समितिले निर्णय अनुमोदन नगरेको हकमा जिल्ला कार्य सम्पादन समितिले गरेका निर्णयहरू स्वतः बदर हुनेछन्।

स्थानीय पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

५२. स्थानीय अध्यक्षको काम, कर्तव्य र अधिकार

५२.१. स्थानीय कार्य सम्पादन समिति, स्थानीय समिति तथा स्थानीय समितिले आयोजना गरेका बैठकहरूको अध्यक्षता गर्ने।

५२.२. स्थानीय कार्य सम्पादन समिति तथा स्थानीय समितिको बैठकका प्रस्ताव तयार गर्ने, बैठक आह्वान गर्ने र बैठकका निर्णयहरू कार्यान्वयन गराउने।

५२.३. निर्वाचन गरेर निर्णय गर्नुपर्ने अवस्थामा निर्णायक मत दिने।

५२.४. स्थानीय तह समितिको तर्फबाट स्थानीय तह सभा तथा स्थानीय तह अधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने।

५२.५. आवश्यकता अनुसार आफ्नो अधिकार उपाध्यक्षमा प्रत्यायोजन गर्ने।

५३. स्थानीय तह उपाध्यक्षको काम, कर्तव्य र अधिकार

५३.१. अध्यक्षले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्ने।

५३.२. स्थानीय तहले दिएको अन्य जिम्मेवारी पुरा गर्ने।

५४. स्थानीय सचिवको काम, कर्तव्य र अधिकार

५४.१. स्थानीय संगठन विभागको नेतृत्व गर्ने।

५४.२. संगठन विभागको कार्य प्रगति विवरण स्थानीय समितिमा प्रस्तुत गर्ने।

५४.३. स्थानीय सभा तथा स्थानीय अधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र निर्णयहरूको कार्यान्वयनमा समन्वय गर्ने।

५५. स्थानीय कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

५५.१. पार्टीको आर्थिक नीतिअनुसार कोष सङ्कलन विभागको नेतृत्व गर्ने।

५५.२. कोष सङ्कलन विभागको कार्य प्रगति विवरण स्थानीय तह समितिमा प्रस्तुत गर्ने।

५५.३. स्थानीय सभा तथा अधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने।

५५.४. पार्टीको निम्ति आवश्यक आर्थिक श्रोत-साधनको व्यवस्थापन गर्ने, त्यसको संरक्षण तथा संवर्द्धन गर्ने तथा सम्पूर्ण आय-व्ययको अभिलेख राख्ने।

५५.५. सङ्कलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चको लागि निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने।

५५.६. स्थानीय समितिले निर्णय गरे अनुसार पार्टीको बैङ्क खाता सञ्चालन गर्ने।

५५.७. लेखा प्रतिवेदन निर्माणमा लेखा समितिलाई सहयोग गर्ने।

५६. स्थानीय कार्य सम्पादन समिति

५६.१. स्थानीय पदाधिकारी र स्थानीय समितिले आफूमध्येबाट चयन गरी बढीमा ७ जनाको स्थानीय कार्य सम्पादन समिति गठन गर्नेछ। कार्य सम्पादन समिति गठन गर्दा सम्भव भएसम्म समावेशितालाई ध्यानमा राख्नुपर्नेछ।

५७. स्थानीय कार्य सम्पादन समितिको काम, कर्तव्य र अधिकार

५७.१. स्थानीय तह समितिले अख्तियारी दिएको अधिकार उपभोग गर्ने।

५७.२. स्थानीय तह समिति प्रति उत्तरदायी हुने गरि दलको कार्यकारी निर्णय गर्ने।

५८. वडा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

५८.१. वडा तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको काम कर्तव्य र अधिकार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षका लागि व्यवस्था भएअनुसार नै सम्बन्धित वडा तहमा कार्यान्वयन गर्नु हुनेछ।

५९. वडा कार्य सम्पादन समिति

५९.१. वडा पदाधिकारी र वडा समितिले आफूमध्येबाट चयन गरेको सदस्यहरू सहित ७ जनाको वडा कार्य सम्पादन समिति गठन गरिनेछ। कार्य सम्पादन समिति गठन गर्दा सम्भव भएसम्म समावेशितालाई ध्यानमा राख्नु पर्नेछ।

टोल पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

६०. टोल अध्यक्षको काम, कर्तव्य र अधिकार

६०.१. टोल समिति तथा टोल समितिले आयोजना गरेका हरेक बैठकको अध्यक्षता गर्ने।

६०.२. बैठकका प्रस्तावहरू पेस गर्ने, छलफल चलाउने र निर्णय कार्यान्वयन गर्ने, गराउने।

६०.३. कुनै पनि विषयमा निर्वाचन गरेर निर्णय गर्नुपर्ने भएमा निर्णायक मत दिने।

६०.४. टोल सभा तथा टोल अधिवेशनमा राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने।

६०. टोल अध्यक्षको काम, कर्तव्य र अधिकार

६०.१. टोल समिति तथा टोल समितिले आयोजना गरेका हरेक बैठकको अध्यक्षता गर्ने।

६०.२. बैठकका प्रस्तावहरू पेस गर्ने, छलफल चलाउने र निर्णय कार्यान्वयन गर्ने, गराउने।

६०.३. कुनै पनि विषयमा निर्वाचन गरेर निर्णय गर्नुपर्ने भएमा निर्णायक मत दिने।

६०.४. टोल सभा तथा टोल अधिवेशनमा राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने।

६१. संसदीय दल

६१.१. पार्टीका निर्वाचित पदाधिकारी र उम्मेदवारहरू संलग्न तहगत संसदीय दल गठन गरिने छ।

६१.२. संसदीय दलको गठन र सञ्चालनका लागि नेपाल सरकारको प्रचलित कानुनसँग नबाझिने गरी पार्टीले एक छुट्टै संसदीय दल सञ्चालन सम्बन्धी विधान तयार गरी कार्यान्वयन गर्नेछ।

६१.३. संसदीय दलको गठन र कार्य सञ्चालन संसदीय दलको विधानमा व्यवस्था भएअनुसार हुनेछ।

भाग – ९

कोष

६२. कोष

६२.१. पार्टीले आफ्नो कोष सञ्चालन, नियमन र व्यवस्थापन गर्न कोष सञ्चालन नियमावली बनाई कार्यान्वयन गर्नेछ।

६२.२. पार्टीको मुख्य आर्थिक श्रोत पार्टी सदस्यहरूको सदस्यता शुल्क र स्वैच्छिक सहयोग, पार्टीका देशभित्र र बाहिर रहने नेपाली नागरिकले दिएको आर्थिक सहयोग, नगद वा जिन्सी दान र पार्टीले उत्पादन गरेका प्रकाशन तथा प्रसारण सामग्रीको विक्रीबाट प्राप्त हुने आयनै पार्टीको मुख्य आर्थिक श्रोत हुनेछ।

६२.३. यसरी प्राप्त आम्दानीलाई सञ्चालन र व्यवस्थापन गर्न पार्टीको आफ्नै कोष हुनेछ। आ-आफ्नो तहमा सो कोषको संचालन गर्नु तहगत समितिका कोषाध्यक्ष, सह-कोषाध्यक्षको मुख्य जिम्मेवारी हुनेछ।

६२.४. पार्टीको आर्थिक कारोबार व्यवस्थित, मितव्ययी र आर्थिक अनुशासनमा आधारित हुनेछ।

६२.५. नेपालको कानुनले राजनीतिक दललाई अर्थ सङ्कलन र व्यवस्थापन गर्न निर्दिष्ट गरेको कानुनको अधीनमा रही मात्र सो कार्य गरिनेछ।

६२.६. कोष सञ्चालनको अन्य व्यवस्था नियमावलीमा उल्लेख भएअनुसार हुनेछ।

भाग – १०

६३. अस्वीकार गर्ने र फिर्ता बोलाउने अधिकार

६३.१. पार्टीले आफ्नो आन्तरिक जीवनमा र राज्य तहमा उम्मेदवार र निर्वाचित प्रतिनिधिहरू अस्वीकार गर्ने र फिर्ता बोलाउन पाउने मतदाताहरूको अधिकारको सम्मान गर्दै आवश्यक राजनीतिक, कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नेछ।

६३.२. अस्वीकार गर्ने र फिर्ता बोलाउने दुवै अधिकारहरूको कार्यान्वयनका लागि आवश्यक नीति, निर्देशिका र कार्य संरचना बनाइने छ।

६३.३. त्यस्तो संरचनाले स्वतन्त्र, निष्पक्ष र प्रभावकारी ढंगले काम गरोस् भन्नका लागि त्यसलाई केन्द्रमा विराट सभा र अन्य तहमा सम्बन्धित सभाको कार्यक्षेत्रभित्र राखिने छ।

६३.४. केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई फिर्ता बोलाउने सम्बन्धमा गरिएको निर्णयको अनुमोदन विराट सभाको दुई तिहाइ बहुमतले गर्नु पर्नेछ। प्रदेश वा स्थानीय निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई फिर्ता बोलाउने निर्णयको अनुमोदन सम्बन्धित प्रदेश वा स्थानीय सभाको दुई तिहाइले गर्नु पर्नेछ।

६३.५. फिर्ता बोलाउने अधिकारको प्रयोग भई सभाबाट भएको निर्णय कार्यान्वयन गराउने जिम्मेवारी सम्बन्धित तहगत कार्य समितिहरूको हुनेछ।

६३.६. यस विधिबाट रिक्त रहेको निर्वाचित पदाधिकारीको पदमा पदपूर्ति गर्नको लागि निर्वाचित पदको हकमा उपनिर्वाचन हुनेछ। मनोनित सदस्यलाई सम्बन्धित समितिले फिर्ता बोलाई भएको रिक्त पदको हकमा सोही समितिले पुनः सो पदमा नयाँ मनोनयन गरिने छ।

६३.७. कुनै पनि फिर्ता बोलाइएको पदको बाँकी कार्यकाल ६ महिना भन्दा कम भएमा उपनिर्वाचन वा पुनः मनोनयन गरिने छैन।

भाग – ११

विविध

६४. पार्टी एकीकरण, विभाजन वा विघटन

६४.१. केन्द्रीय समितिको बहुमतले पार्टी एकीकरण तथा अत्यावश्यकीय अवस्थामा तहगत कार्यकारी समितिहरूको विस्तार गर्न सक्नेछ। त्यस्तो अवस्थामा विधानमा अन्यत्र जेसुकै लेखिएको भए तापनि ती प्रावधानहरू वाधक हुने छैनन्। आवश्यक नयाँ पदहरू पनि सृजना गर्न सकिनेछ।

६४.२. पार्टी विघटनको प्रस्ताव विराट सभा वा महाधिवेशनको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्ने छ।

६४.३. पार्टी एकीकरण, विभाजन वा विघटन सम्बन्धी अन्य कुराहरू प्रचलित कानुन बमोजिम हुनेछ।

६५. सम्पत्ति तथा दायित्व सम्बन्धमा

६५.१. विवेकशील साझा पार्टी अन्य राजनीतिक दलसँग एकीकरण भएमा यसको सम्पूर्ण सम्पत्ति स्वतः एकीकृत दलको स्वामित्वमा जानेछ।

६५.२. विवेकशील साझा पार्टी विघटन भएमा सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा जानेछ।

६५.३. माथि जेसुकै लेखिएको भए पनि यदि कसैले एउटा निश्चित अवधिको लागी विवेकशील साझा पार्टीसँग सम्झौता गरेर कुनै नगद वा जिन्सी सम्पत्ति प्रयोग गर्न दिएको भए उक्त सम्पत्ति फिर्ता गरेपछि मात्र बाँकी सम्पत्ति नेपाल सरकारको स्वामित्वमा जानेछ।

६६. विधान संशोधन

६६.१. विधान संशोधन गर्नुपरेमा केन्द्रीय समितिको तर्फबाट वा महाधिवेशन कार्यविधि अनुसार विधान संशोधनको प्रस्ताव महाधिवेशनमा प्रस्तुत गरी महाधिवेशनका सम्पूर्ण सदस्य संख्याको बहुमतले यसमा संशोधन गर्न सक्नेछ।

६६.२. महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समितिको दुई तिहाइ बहुमतले विधान संशोधन गर्न सक्नेछ ।

६७. गणपूरक सङ्ख्या

६७.१. विधानमा गरिएको विशेष व्यवस्था बाहेक, साधारण अवस्थामा पार्टीका सबै तहगत निकाय वा समितिहरूको गणपूरक सङ्ख्या उपस्थित संख्याको पचास प्रतिशत जोड १ हुनेछ।

६८. राजीनामा सम्बन्धमा

६८.१. केन्द्रीय समिति वा केन्द्रीय कार्यसम्पादन समितिका कुनै पनि सदस्यले राजीनामा गर्न चाहेमा कारण खुलाई राजीनामा पत्र पार्टी अध्यक्षलाई पेस गर्नुपर्नेछ। तत्पश्चात्, अध्यक्षले निर्णय लिनेछन्।

६८.२. केन्द्रीय समिति वा केन्द्रीय कार्यसम्पादन समितिले निर्माण गरेका कुनै पनि विभाग, कार्यदल, समिति वा आयोगका अध्यक्ष/प्रमुखले राजीनामा गर्न चाहेमा कारण खुलाई राजीनामा पार्टी अध्यक्षलाई पेस गर्नु पर्नेछ। तत्पश्चात्, अध्यक्षले निर्णय लिनेछन्।

६८.३. अन्य तहमा कार्य समितिका सदस्यहरूले वा ती तहहरूमा निर्माण भएका विभाग, कार्यदल, समिति वा आयोगका अध्यक्ष/प्रमुखले राजीनामा गर्न चाहेमा कारण खुलाई सम्बन्धित तहका अध्यक्षलाई राजीनामा पेस गर्नु पर्नेछ। तत्पश्चात्, अध्यक्षले निर्णय लिनेछन्।

६८.४. अन्य तहमा कार्य समितिबाहेकका विभाग, कार्यदल, समिति वा आयोगका पदाधिकारी तथा सदस्यले राजीनामा गर्न चाहेमा उचित कारणसहित आफ्नो राजीनामा पत्र सम्बन्धित विभाग, कार्यदल, समिति वा आयोगका अध्यक्ष/प्रमुखलाई पेस गर्नुपर्नेछ। तत्पश्चात्, अध्यक्ष/प्रमुखले निर्णय लिनेछन्।

६८.५. कुनै पनि समितिमा पदेन प्रतिनिधित्व गर्ने सदस्यहरूले आफ्नो पदबाट राजीनामा दिएमा पदेन प्रतिनिधित्व पद स्वतः समाप्त भएको मानिनेछ ।

६९. विधानको व्याख्या

६९.१. विधानमा भएका सम्पूर्ण प्रावधानहरूको व्याख्या केन्द्रीय समितिले गर्नेछ।

७०. नियमावली बनाउने र परिपत्र जारी गर्ने

७०.१. केन्द्रीय समितिले यो विधानको अधीनमा रही आवश्यक नियमावली तथा निर्देशिका बनाउन, निर्देशन दिन वा परिपत्र जारी गर्न सक्नेछ।

७१. बाधा अड्काउ फुकाऊ तथा खारेजी

७१.१. विधान लागू गर्दा कुनै वाधा अड्काउ परेमा त्यस्तो वाधा अड्काउ फुकाउने अधिकार केन्द्रीय समितिलाई प्रदान गरिएको छ।

७१.२. यो विधान प्रारम्भ भएपछि यसभन्दा पहिलेको पार्टीको विधान स्वतः खारेज हुनेछ र उक्त विधान बमोजिम भए गरेका सम्पूर्ण कामहरू यसै विधान बमोजिम भए गरेको मानिनेछ।

भाग – १२

सङ्क्रमणकालीन व्यवस्था

७२.१. यस विधानलाई पार्टीको केन्द्रीय समितिको दुई-तिहाइ बहुमतले पारित गरी लागू गर्नेछ।

७२.२. महाधिवेशन भएपछि मात्र लागू हुन सक्ने धाराहरू बाहेक यो विधानका अन्य सबै व्यवस्थाहरू तत्काल लागू हुनेछन्।

७२.३. महाधिवेशन नभएसम्म पार्टीको कार्यकारी समितिहरूको संरचना यस विधानमा उल्लेख गरिएभन्दा फरक रहेकोले महाधिवेशनसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय अध्यक्ष तथा संयोजक, प्रदेश संयोजक तथा सह-संयोजक, जिल्ला संयोजक तथा सह-संयोजक, स्थानीय तह संयोजक तथा सह-संयोजक, वडा संयोजक तथा सह-संयोजक र टोल संयोजक तथा सह-संयोजकको काम, कर्तव्य र अधिकार निम्न बमोजिम हुनेछ।

७२.४. केन्द्रीय अध्यक्षको काम, कर्तव्य र अधिकार

७२.४.१. पार्टीको नेतृत्व गर्ने: पार्टीको संगठन, रणनीति, कार्यनीति र कार्य विभाजनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

७२.४.२. आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिको बैठकको प्रस्ताव निर्धारण गरि बैठक बोलाउने।

७२.४.३. केन्द्रीय कार्य सम्पादन समिति, केन्द्रीय समिति, तथा केन्द्रीय समितिले आयोजना गरेका बैठकहरूको अध्यक्षता गर्ने।

७२.४.४. केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समितिमा कुनै पनि प्रस्तावमा छलफल भई मतदान हुँदा मत बराबर भएमा निर्णायक मतदान दिने र बैठकका निर्णयहरू प्रमाणीकरण गर्ने।

७२.४.५. पार्टीको सम्बन्ध-सम्पर्क बिस्तार, जनमत निर्माण, विभिन्न पक्षहरूसँग राजनीतिक सम्बन्ध स्थापना, वार्ता र पार्टीको आधिकारिक मञ्चहरूमा राजनीतिक, वैचारिक कार्यदिशा र प्रस्तावहरूको प्रस्तुति र व्याख्या गर्ने।

७२.४.६. केन्द्रीय कार्य सम्पादन समिति सदस्य र केन्द्रीय सदस्यले राजीनामा दिएमा त्यसलाई स्वीकृत गर्ने।

७२.४.७. पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्य र केन्द्रीय समिति सदस्यको पद रिक्त हुन आएमा अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिले पदपूर्ति गर्नेछ।

७२.४.८. आवश्यकता अनुसार आफ्नो अधिकार केन्द्रीय संयोजकलाई प्रत्यायोजन गर्ने।

७२.५. केन्द्रीय संयोजकको काम, कर्तव्य र अधिकार

७२.५.१. अध्यक्षसँगको परामर्शमा केन्द्रीय कार्य सम्पादन समिति, केन्द्रीय समिति तथा केन्द्रीय समितिद्वारा आयोजित बैठकहरूको सञ्चालन गर्ने।

७२.५.२. केन्द्रीय अध्यक्षसँगको समन्वयमा पार्टीका अन्य महत्त्वपूर्ण जिम्मेवारीहरूको नेतृत्व गर्ने।

७२.६. प्रदेश संयोजकको काम, कर्तव्य र अधिकार

७२.६.१. आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरि प्रदेश कार्य सम्पादन समिति, प्रदेश समितिको बैठकको प्रस्ताव निर्धारण गरि बैठक बोलाउने।

७२.६.२. प्रदेश कार्य सम्पादन समिति, समितिले आयोजना गरेका बैठकहरूको अध्यक्षता गर्ने।

७२.६.३. प्रदेश समितिमा कुनै पनि प्रस्तावमा छलफल भई मतदान हुँदा मत बराबर भएमा निर्णायक मतदान दिने।

७२.६.४. पार्टीका विविध कार्यहरूको नेतृत्व गर्ने, सम्बन्ध-सम्पर्क बिस्तार गर्ने, जनमत निर्माण गर्ने, विभिन्न पक्षहरूसँग राजनीतिक सम्बन्ध स्थापना, वार्ता र पार्टीको आधिकारिक मञ्चहरूमा राजनीतिक, वैचारिक कार्यदिशा र प्रस्तावहरूको प्रस्तुति र व्याख्या गर्ने।

७२.६.५. आवश्यकता अनुसार आफ्नो अधिकार सह-संयोजकलाई प्रत्यायोजन गर्ने।

७२.७. प्रदेश सह-संयोजकको काम, कर्तव्य र अधिकार

७२.७.१. प्रदेश संयोजकसँगको परामर्शमा प्रदेश कार्य सम्पादन समिति, प्रदेश समिति तथा प्रदेश समितिद्वारा आयोजित बैठकहरूको सञ्चालन गर्ने।

७२.७.२. प्रदेश संयोजकसँगको समन्वयमा प्रदेशका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने।

७२.८. जिल्ला संयोजकको काम, कर्तव्य र अधिकारर

७२.८.१. आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरि जिल्ला कार्य सम्पादन समिति र जिल्ला समितिको बैठकको प्रस्ताव निर्धारण गरि बैठक बोलाउने।

७२.८.२. जिल्ला कार्य सम्पादन समिति, जिल्ला समिति तथा जिल्ला समितिद्वारा आयोजित बैठकहरूको अध्यक्षता गर्ने।

७२.८.३. आवश्यकता अनुसार आफ्नो अधिकार सह-संयोजकलाई प्रत्यायोजन गर्ने।

७२.९. जिल्ला सह-संयोजकको काम, कर्तव्य र अधिकार

७२.९.१. जिल्ला संयोजकसँगको परामर्शमा जिल्ला कार्य सम्पादन समिति, जिल्ला समिति तथा जिल्ला समितिद्वारा आयोजित बैठकहरू संचालन गर्ने।

७२.९.२. जिल्ला संयोजकसँगको समन्वयमा जिल्लाका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने।

७२.१०. स्थानीय तहको संयोजकको काम, कर्तव्य र अधिकार

७२.१०.१. आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरि जिल्ला कार्य सम्पादन समिति र जिल्ला समितिको बैठकको प्रस्ताव निर्धारण गरि बैठक बोलाउने।

७२.१०.२. स्थानीय तहको कार्य सम्पादन समिति, स्थानीय तहको समिति तथा स्थानीय तहको समितिद्वारा आयोजित बैठकहरूको अध्यक्षता गर्ने।

७२.११. स्थानीय तहको सह-संयोजकको काम, कर्तव्य र अधिकार

७२.११.१. स्थानीय तहको संयोजकसँग समन्वय गरि स्थानीय तहको कार्य सम्पादन समिति, स्थानीय तहको समिति तथा स्थानीय तहको समितिद्वारा आयोजित बैठकहरूको संचालन गर्ने।

७२.११.२. संयोजकसँगको परामर्शमा स्थानीय तहका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने।

७२.१२. वडा संयोजकको काम, कर्तव्य र अधिकार

७२.१२.१. आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरि वडा कार्य सम्पादन समिति र वडा समितिको बैठकको प्रस्ताव निर्धारण गरि बैठक बोलाउने।

७२.१२.२. वडा कार्य सम्पादन समिति, वडा समिति तथा वडा समितिद्वारा आयोजित बैठकहरूको अध्यक्षता गर्ने।

७२.१३. वडा सह-संयोजकको काम, कर्तव्य र अधिकार

७२.१३.१. स्थानीय तहको संयोजकसँग समन्वय गरि स्थानीय तहको कार्य सम्पादन समिति, स्थानीय तहको समिति तथा स्थानीय तहको समितिद्वारा आयोजित बैठकहरूको संचालन गर्ने।

७२.१३.२. संयोजकसँगको परामर्शमा स्थानीय तहका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने।

७२.१४. टोल संयोजकको काम, कर्तव्य र अधिकार

७२.१४.१. स्थानीय तहको संयोजकसँग समन्वय गरि टोल कार्य सम्पादन समिति, टोल समिति तथा टोल समितिद्वारा आयोजित बैठकहरूको संचालन गर्ने।

७२.१४.२. संयोजकसँगको परामर्शमा टोलका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने।

७२.१५. टोल सह-संयोजकको काम, कर्तव्य र अधिकार

७२.१५.१. टोल संयोजकसँग समन्वय गरि टोल कार्य सम्पादन समिति, टोल समिति तथा टोल समितिद्वारा आयोजित बैठकहरू संचालन गर्ने।

७२.१५.२. संयोजकसँगको परामर्शमा टोलका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्ने।

७२.१६. विविध

७२.१६.१. महाधिवेशन आयोजक समिति घोषणासँगै गरिएका निर्णयहरू, त्यसपछि महाधिवेशन आयोजक समितिबाट जारी गरिएको महाधिवेशन सञ्चालन कार्यविधि र निर्वाचन सम्बन्धी नीतिगत व्यवस्थाहरू विधानको अङ्ग हुनेछन्। त्यसलाई कार्यान्वयन गर्नु गराउनु आयोजक समितिको दायित्व हुनेछ।

७२.१६.२. पार्टीको महाधिवेशन घोषणा भई आयोजक समिति गठन भइसकेपछि महाधिवेशन आयोजक समिति र त्यसले गठन गरेका समितिहरूको काम, कर्तव्य र अधिकारहरू आयोजक समितिले तोके बमोजिम हुनेछ।

७२.१६.३. महाधिवेशन आयोजनाका लागि गठन गरिएको निर्वाचन आयोगले निर्धारण गरेबमोजिम निर्वाचन सम्पन्न भई नयाँ केन्द्रीय समिति र प्रदेश समितिहरू गठन भइ शपथग्रहण गरिसकेपछि महाधिवेशन र अधिवेशन सम्पन्न हुनेछ।

७२.१६.४. महाधिवेशनले पारित गरेको विधान तत्काल लागू हुनेछ।

अनुसूचीहरू

अनुसूची – १ : केन्द्रीय कार्यालय

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय देहाय बमोजिमको स्थानमा हुनेछ-

प्रदेश: बाग्मती, जिल्ला: ललितपुर
ललितपुर महानगरपालिका, वडा नं. ३
बखुन्डोल, ललितपुर नेपाल
फोन नम्बर: ०१-५४३६०६२

पोष्ट बक्स नं.: पोष्ट बक्स नं. ५८५३, काठमाडौँ, नेपाल

इमेल: operations@bibeksheelsajha.com, वेबसाइट: www.bibeksheelsajha.com.np, www.bibeksheelsajha.com

अनुसूची – २ : पार्टीको झण्डा

विवेकशील साझा पार्टीको झण्डा देहाय बमोजिमको हुनेछ-

  • विवेकशील साझा पार्टीको झन्डा चारपाटे गाढा निलो पृष्टभुमिमा सेतो रंगको तराजु चिन्ह अङ्कित हुनेछ। तराजुको ठिक तल सेतो अक्षरमा पार्टीको नाम लेखिनेछ।

जस्तै:

अनुसूची – ३ : पार्टीको चुनाव चिन्ह

विवेकशील साझा पार्टीको चुनाव चिन्ह देहाय बमोजिम हुनेछ-

  • विवेकशील साझा पार्टीको चुनाव चिन्ह तराजु हुनेछ।

जस्तै:

अनुसूची – ४ : पार्टीको छाप

विवेकशील साझा पार्टीको छाप देहाय बमोजिम हुनेछ-

  • विवेकशील साझा पार्टीको छाप अंडाकार आकारको दुई धर्काले बनेको घेरा भित्र बिचमा तराजु रहने छ। तराजुको माथिपट्टीको घेरामा पार्टीको नाम र मुनि पट्टिको घेरामा पार्टी स्थापित वर्ष रहनेछ।

जस्तै:

अनुसूची – ५ : पार्टीको लेटरहेड

विवेकशील साझा पार्टीको लेटरहेड देहाय बमोजिम हुनेछ-

  • लेटरहेडको हेडरको बायाँ कुनामा पार्टीको निर्वाचन चिन्ह तराजु अङ्कित हुनेछ। हेडरको बिचमा पार्टीको नाम र दायाँ पट्टि पत्र संख्या, चलानी नम्बर, मिति र पृष्ठ संख्या लेखिनेछ। लेटरहेडको फुटरमा पार्टीको ठेगाना, सम्पर्क नम्बर, इमेल र वेबसाइटको विवरण राखिनेछ।

जस्तै:

अनुसूची – ६ : पार्टीको सदस्याता फारम

विवेकशील साझा पार्टीको सदस्याता फारम देहाय बमोजिम हुनेछ-

  • सदस्यता प्राप्त गर्ने व्यक्तिलाई नाम, नागरिकता नम्बर, सदस्यता शुल्क सहितको विवरण भएको फारमको अर्धकट्टी र परिचयपत्र दिइनेछ।
This website uses cookies to improve your web experience.
AllEscortAllEscortAllEscort