विवेकशील साझा विस्तारमा

विगत सात दशक नेपाली जनताले राजनीतिक परिवर्तनका आन्दोलनमा बिताउनुपर्यो। बिपी कोइराला, मदन भण्डारी लगायतका दूरद्रष्टा नेताको मार्गदर्शन र नेपाली जनताको त्याग/बलिदानले लोकतन्त्र नेपाली समाजको आधारभूत मान्यताका रुपमा स्थापित भएको छ। संविधानसभामार्फत मुलुकले नयाँ संविधान पाएको छ। वास्तवमा कुनै पनि देशमा राजनीतिको मूल चुनौती भनेको समाजका विभिन्न वर्ग र समुदायका विविध आकांक्षालाई संवैधानिक व्यवस्थामार्फत राज्यका सिद्धान्त र नीतिहरुमा न्यायोचित तवरले प्रतिविम्बित गर्नु हो। तर कुनै पनि देशको संविधानले समाजका सबैखाले मुद्दालाई पूर्णरुपले निरुपण गर्न नसक्ने कुरा अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ। संविधान मुलुकको आर्थिक-सामाजिक विकासका क्रमसँगै परिमार्जित हुँदै जाने एक गतिशील दस्तावेज हो भन्नेमा कसैको विमति छैन। समयक्रममा नेपालको संविधानमा हुने आवश्यक परिमार्जनले हाल देखिएका केही असन्तुष्टिहरुलाई सम्बोधन गर्ने अपेक्षा गर्न सकिन्छ।

राजनीतिक परिवर्तनको लामो श्रृंखला पार गरी संविधानसभाबाट नयाँ संविधान समेत लागू भइसकेको अवस्थामा मुलुकको अगाडिको कार्यभार भनेको विकास र समृद्धिका लागि जनताको उर्लँदो आकांक्षालाई सम्बोधन गर्नु हो। राजनीतिक आन्दोलन र परिवर्तनको विगतको लामो कालखण्डमा विकास र समृद्धिको मुद्दा पूरै ओझेलमा पर्यो। मुलुकले प्रत्येक दशकमा राजनीतिक संक्रमणको सामना गर्नुपर्यो, र राजनीतिक अस्थिरताले गर्दा विकासले गति लिन सकेन। लामो कालखण्डदेखि समाजमा गुम्सिएर रहेको आकांक्षालाई यथोचित हिसाबले सम्बोधन गर्न विकास र समृद्धिका लागि मुलुकले छलाङ मार्न अनिवार्य छ।

हाम्रो विद्यमान राजनीतिक संस्कार, प्रमुख दलहरुको संरचना र राज्य सञ्चालनको शैली भने मुलुकलाई विकास र समृद्धिको बाटोमा भन्दा पनि निरन्तर अधोगतिमा लैजाने दिशामा उन्मुख छ। फोहोरी राजनीति र यसबाट सिर्जित विसंगतिले गर्दा लगानी,  उत्पादकत्व र रोजगारीको सम्भावना टाढिंदै छ। ऊर्जाशील युवा विदेश पलायन हुँदैछन्। अर्थतन्त्र वैदेशिक रोजगारीको रेमिटन्सले धानेको छ। भागबण्डा र प्रशासनमा दलीय राजनीतिले गर्दा राज्य संयन्त्र थला परेको छ। भएकै बजेट पनि विकास आयोजनामा खर्च गर्न सकिएको छैन।

विसंगतिपूर्ण यस्तो राजनीतिक अवस्थामा आखिर सीमित व्यक्तिहरूले सरकारभित्र या सरकारबाहिर जति नै राम्रो काम गरे पनि त्यसको असर राष्ट्रको सर्वाङ्गीण परिवर्तनमा प्रधान नभई सहायकमात्र हुनेरहेछ। त्यसबाट समाजले केही पाउने, व्यक्तिको सम्मान बढ्ने रहेछ तर सिङ्गो राष्ट्रको सम्मानमा भने तात्विक अन्तर नपर्नेरहेछ। यो तथ्य धेरै नेपालीहरूले धेरै गहिरो रूपमा अनुभूत गर्न थालिसकेका छन्। राम्रो कामका लागि अनेकौं सम्मानबाट विभूषित एक नेपालीले आफ्नो वर्षौंदेखिको योगदान केवल “खुद्रा काम”जस्तो लाग्न थालेको र अर्का एकजनाले “सिङ्गो शरीरमा घाउ लाग्दा आफूचाहिँ एउटा औंलामा लागेको घाउको उपचार गरेर दङ्ग परिरहेको”विडम्बना त्यसै व्यक्त गरेका होइनन्।

जहाँ दशकौंसम्म विकृत नेतृत्वहरू विकासका कुरा गर्छन्, जहाँ दशकौंसम्म अपारदर्शी ढंगबाट जीवन र पार्टी चलाउनेहरू पारदर्शिताका भाषण गर्छन्,जहाँ नेताहरू प्रतिकूलतालाई सधैं आफ्नो विफलताको कारक ठान्छन् र जहाँ सम्भावना बोकेका ठानिएकाहरु राजनीतिक रूपमा हस्तक्षेप गर्न हिच्किचाउँछन्, त्यहाँ सम्पन्ताको सुनिश्चितता भएर पनि नेपाल जस्ता देशहरू गरिबीको जाँतोमा पिल्सिएर बस्छन्।

यो परिस्थितिलाई अधिकांश नेता तथा कैयौं बुद्धिजीवीहरूले देशको ऐतिहासिक, सांस्कृतिक, भूराजनीतिक परिस्थितिका आधारमा व्याख्या गरिनुपर्छ भन्ने तर्क नगरेका होइनन्। कतिपय बारम्बार प्रश्न गर्ने गर्छन्, “युरोपमा स्थिरता, विकास र समृद्धिका लागि कति सय वर्ष लाग्यो? हतार गरेर हुन्छ?” तिनलाई प्रतिप्रश्न गर्न सकिन्छ, “हाम्रा छिमेकी र छिमेकीका छिमेकीको विकास एकै पुस्ता अर्थात केही दशकभित्रै कसरी सम्भव भयो, विकासको मामिलामा हतार नगरी हुन्छ?” दश लाख मानिसको ज्यान जानेगरी भएको सन् १९८४ को भोकमरी, अनि त्यो सँगसँगै चलेको विखण्डनकारी युद्धले विक्षिप्त इथियोपियालाई अहिले ‘एउटा अफ्रिकी बाघ’को रूपमा हेरिन्छ र उसले सन् २०२५ सम्ममा मध्य-आयको मुलुक बन्ने महत्वाकांक्षी लक्ष्य लिएर तीव्र आर्थिक प्रगति गरिरहेछ। के त्यहाँको स्थिति अनुकूल थियो? सन् १९९० को मध्यतिर झण्डै १० लाख मानिसको ज्यान जानेगरी गृहयुद्धले ध्वस्त बनाएको अर्को भूपरिवेष्टित अफ्रिकी राष्ट्र रूवाण्डा अहिले कसरी उल्लेख्य आर्थिक प्रगतिको बाटोमा दौडिएको छ? के त्यहाँको स्थिति अनुकूल थियो? त्यस्तो प्रश्न गर्दा कतिपयले भन्नेछन्, “ती अधिकांश ‘नरम तानाशाही व्यवस्था’ का कारण सम्भव भएको हो। के तपाईंहरूले पनि देशमा तानाशाह खोजेको हो?” उत्तर स्पष्ट छ:होइन। यो देशमा अब कोही पनि सर्वसाधारण, बुद्धिजीवी या राजनीतिकर्मीले तानाशाहको झिनो सपनासम्म पनि नदेखे हुन्छ। देश यति व्यापकरूपमा राजनीतिकरण भइसक्यो कि अब चरम परिस्थितिमा बाहेक अन्य स्थितिमा यो देशमा तानाशाहको उदय र स्थायित्व कल्पनै नगरे हुन्छ।

विकास र स्थिरताका लागि तानाशाह आवश्यक छैन। विकास र स्थिरताका लागि दुई-तीन सय वर्षको अस्थिरता र उथलपुथल पनि आवश्यक छैन। विकासका लागि पद्धति, पारदर्शिता र समृद्धिको एजेण्डा बोकेका सक्षम, इमान्दार, दूरदृष्टिपूर्ण र नेतृत्व क्षमता भएका नेपालीहरू एकजुट भएर तिनले राजनीतिक रूपमा हस्तक्षेप गरे पुग्छ।

हो, आजका अधिकांश नेताहरूले ठूलो आदर्श बोकेरै राजनीति शुरू गरेका थिए। तिनले प्रतिकूल परिस्थितिमा पनि धेरै दुःख बेहोरेर अनौठो साहस देखाए। राजनीतिक परिवर्तनसँगै राज्यको नेतृत्वमा पुगेपछि भने जनताका आकांक्षा मुताबिक मुलुकलाई हाक्ने कुरामा भने उनीहरू सधैं नराम्ररी चुके। लामो समय निरंकुशताविरुद्ध लडेका नेताहरुमा लोकतान्त्रिक पद्धति अन्तर्गत राज्य सञ्चालनका लागि चाहिने सीप र अनुभवमा केही कमी रहनु स्वभाविक थियो। तर विसंगति र विकृतिका विषालु काँडा समाजमा फैलिंदै गर्दा गौरवशाली इतिहास बोकेका नेताहरुले सुधारका लागि कुनै गाम्भीर्यता नदेखाउनु मुलुकका लागि दुर्भाग्य बन्यो। नेता र कार्यकर्ताहरुको कार्यशैलीले दलको संरचना र संयन्त्रलाई राज्यको श्रोत/साधनको अधिकतम दोहन गर्ने माध्यमका रुपमा विकास गर्यो। हालको अवस्था यस्तो छ कि प्रमुख दलहरुको संरचना र कार्यशैलीले जस्तोसुकै असल नेता/कार्यकर्तालाई विसंगतिको बाहक बन्न बाध्य बनाउँछ।

तर दोष नेतृत्वको मात्र होइन। हामी अलि-अलि पढेलेखेका, देखेसुनेका वर्गको पनि कम दोष छैन।हामी अधिकांशले हाम्रा भाइ-बहिनी, छोराछोरी सबैलाई सफल पेशाकर्मी बनाउन चाह्यौँ। राम्ररी पढाउन, विदेश पठाउन, राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा राम्रो जागिर खुवाउन या व्यापार गराउन चाह्यौँ।“यो देशमा सबै भ्रष्ट छन्, एकजना मात्र आदर्श भएर केही हुँदैन” भनेर तिनको दिमागमा भरिदियौं र तिनलाई नजानिंदो रूपमा भ्रष्ट हुन प्रेरित गर्यौँ। “यो देशमा केही हुँदैन, उतै बस्” भनेर उनीहरूलाई सकभर विदेशतिरै राख्न चाह्यौँ। सधैं राजनीतिको चर्चा र विश्लेषण गर्यौँ तर “राजनीति फोहोरी खेल हो त्यसमा हातै हाल्न हुन्न” भनेर उनीहरूलाई हुर्कायौँ, बढायौँ। हाम्रा अभिभावकहरुले पनि हामीलाई त्यसै गरे। हामीले आफूले होइन सधैं अरुले नै देश बनाइदेओस् भन्ने चाह्यौँ।

यस सन्दर्भमा उठ्ने स्वभाविक प्रश्न हो, अबको विकल्प के?

देशको समृद्धिलाई राजनीतिसँग जोडेर हेर्दा पछिल्लो समयमा दुईवटा धारणा प्रबल रूपमा देखिएका छन्। पहिलो, वर्तमान राजनीतिक पार्टी र नेतृत्व जति नै भ्रष्ट, स्वार्थी, असक्षम, गुटबन्दीग्रस्त र दूर-दृष्टिहीन भएपनि यिनैलाई सुधार गर्दै लगे मात्र परिवर्तन सम्भव छ। नयाँ विकल्प खोज्नु हतास मानसिकताको उपज हो।

दोस्रो, त्यस्ता पार्टी र नेतृत्व यति धेरै दुर्गुणबाट ग्रस्त छन् कि तिनलाई सुधार्न र नेतृत्वमा असल व्यक्तिहरूको समूह पुर्याउन दशकौं लाग्न सक्छ र त्यसको पनि कुनै ‘ग्यारेण्टी’ छैन। तसर्थ समृद्धि हाम्रै जीवनकालमा चाहने हो भने नयाँ विकल्प नखोजी सुखै छैन। हामीले नयाँ विकल्पको अपरिहार्यताको निष्कर्षमा पुगेर दोस्रो बाटो रोजेका हौँ।

अझै पनि कसैलाई वर्तमान राजनीतिक दलहरूमै सुधार गरेर परिवर्तन सम्भव छ भन्ने लाग्छ भने उनीहरूलाई प्रतीक्षा गरेर बस्ने छुट छ। त्यो अधिकारलाई सबैले सम्मान गर्नुपर्छ तर जसलाई त्यो विश्वास छैन उनीहरू एकबद्ध हुनुपर्ने बेला आइसकेको छ। दशकौंसम्म चेतनाको नक्सा बदल्न नजान्नेहरूले संविधान र राज्यको नक्सा बदल्दैमा देश बन्दैन।

यद्यपि जुन विकल्पको यहाँ चर्चा गरिँदैछ त्यो केवल नयाँ भएर पुग्दैन, त्यसले निर्वाचनमा कम्तीमा सामान्य बहुमत लिएर आउनैपर्छ र त्यसका लागि हामीलाई तपाईंको दृढ समर्थन, विश्वास र सहयोगको खाँचो छ। हामीले शुरु गर्न लागेको यो यात्रा केवल ५/७ जना सांसदलाई संसद्‌मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिङ्गो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। हामीले तय गरेको यात्रामा देखिएका चुनौतीका पहाडहरूले धेरैलाई अत्याउन सक्छ तर चुनौती नचिरिकन संसारमा शान्ति, स्थिरता र विकास कहाँ नै सम्भव भएको छ र? अरूले हाम्रोभन्दा धेरै गम्भीर चुनौती एकै पुस्तामा चिरेका छन् भने नेपालीले मात्र चिर्न नसक्ने भन्ने प्रश्नै उठ्दैन।

हामी सक्छौँ, हामी गर्छौँ– हामीलाई केवल तपाईंको निसंकोच साथ चाहिएको छ किनभने ‘समृद्धि हाम्रै जीवनकालमा’ हामी सबैको साझा सपना हो, जुन सपनासँग तपाईं र हाम्रो सुखमात्र होइन, हाम्रा सन्तान-दरसन्तानको सुख र शान्ति जोडिएको छ।

जहाँ यात्रा हुँदैन त्यहाँ अवरोध हुँदैन, हिँड्दै नहिँडे ठेस लाग्ने कुरै आउँदैन। हिँडेपछि ठेस त लाग्छ-लाग्छ। द्रुत राष्ट्र रूपान्तरणको यो यात्रामा हिँड्दा हामीलाई थाहा छ, धेरै ठाउँमा हामीलाई पनि ठेस लाग्नेछ, धेरै ठाउँमा हामी लड्नेछौं या लडाइनेछौं। निश्चित छ, कैयौं अवस्थामा गल्ती गर्नेछौं। तर ती गल्ती नियतबश हुने छैनन्। हामी सरासर हिँड्दा प्रशंसा गर्ने मात्र होइन, हामीलाई ठेस लाग्दा, हामी लड्दा र हामीले गल्ती गर्दा तपाईंले हामीलाई उठाउने, सम्झाउने र सिकाउने गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो। र, हामी सधैं तपाईंबाट सिक्न तयार रहनेछौं।