वामदेवको मनोनयन विकृत लोकतन्त्रको घातक विडम्बना: साझा पार्टी

वामदेवको मनोनयन विकृत लोकतन्त्रको घातक विडम्बना: साझा पार्टी

साझा पार्टीले प्रतिनिधि सभा चुनावमा पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाइएकोमा गम्भीर आपत्ती जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका सहप्रवक्ता शरदराज पाठकले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको बताएका छन्।

‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो। यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन: एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’

संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

‘नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याइए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ हामी सरकारलाई समयमै सचेत गराउछौँ,’ विज्ञप्तिमा भनिएको छ।

गत चुनावमा बर्दिया-१ बाट पराजित भएका वामदेवले बिहीबार राष्ट्रिय सभा सदस्यको सवथ लिएका थिए।

सेतोपाटी

0