दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन। कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिकाे दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्।
काठमाण्डाैमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ। कानुनी राज्यमा निर्दाेषले दण्डित हुनु हुँदैन, विभेद गरेको ठहरिए कसैगरी उन्मुक्ति पाउनु हुँदैन।
उक्त घटनाको कानुनी निरूपणमा  विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन हामी सबैलाई आह्वान गर्दछौँ।
कानुनले छुवाछुतलाई दण्डनीय बनाएको ६ दशक भई सक्दा पनि समाजमा जात व्यवस्थाका आधारमा भेदभाव कायमै रहनु र कैयन अवस्थामा राज्यका विभिन्न तहका व्यक्तिहरूबाटै विभेदलाई प्रश्रय मिल्ने गरी कामकारबाही हुनु गम्भीर चिन्ताको विषय हो।
विवेकशील साझा पार्टी सामाजिक न्याय र समानुभूतीकाे जगमा मात्रै समतामूलक संवृद्धि हासिल हुनेमा दृढ विश्वास राख्दछ।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी

१० असार २०७८

प्रेस विज्ञप्ति: चिकित्सा शिक्षामा खेलाँची नगर।

प्रेस विज्ञप्ति: चिकित्सा शिक्षामा खेलाँची नगर।

मेडिकल शिक्षाका विकृतिहरू अन्त गर्नका लागि लामो सङ्घर्षपछि २०७५ सालमा ल्याइएको चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेको भनी आइरहेका समाचारहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले हामीलाई स्तब्ध बनाएको छ।
प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर छ। व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने शृङ्खलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन।
अन्यथा देश दण्डहीनता र अराजकताको थप सिकार बनी संस्थाहरू असफल हुनेछन्। जसको कारण अन्ततः देशनै असफल हुने दिशामा जाने छ।
त्यसैले आज हुने भनिएको चिकित्सा शिक्षा आयोगको बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गरियोस् भनी विवेकशील साझा पार्टी प्रधानमन्त्री लगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।
साथै, कुनै निहित स्वार्थका लागि आयोगका आलङ्कारिक अध्यक्षले विज्ञ पदाधिकारीहरूलाई पेलेर कुनै अवैध निर्णय नगराउन् भनी खबरदारी समेत गर्दछौँ।
कुनै अमुक मेडिकल कलेजले सम्बन्धन पाउने वा नपाउने भन्ने हाम्रो सरोकारको विषय हैन। जुनसुकै मेडिकल कलेज वा अस्पताल खुल्दा पनि देशको कानुनी व्यवस्था अनुकूल खुल्नुपर्छ, उक्त कलेज नीतिगत स्वार्थ र दलीय दाउपेचको सिकार हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौँ।
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतिहरू विरुद्ध विवेकशील साझा पार्टी आफ्नो स्थापनाकाल देखिनै लड्दै आएको सर्वविदितै छ। मेडिकल शिक्षा सुधारका पक्षमा डाक्टर गोविन्द केसीको अनवरत आन्दोलनमा समेत हामी नजिकबाट सरिक रहँदै आएका छौँ। निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो पार्टीको प्रमुख एजेन्डा हो।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
२८ जेठ, २०७८

शोक वक्तव्य


विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।

थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ।

यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।

रवीन्द्र मिश्र, अध्यक्ष
मिलन पाण्डे, संयोजक
विवेकशील साझा पार्टी
मिति: १८ जेठ २०७८