साझा पार्टीको भक्तपुर प्रदेशसभा उमेदवार घोषणा

साझा पार्टी भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझा पार्टी भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादनको व्यवसाय गर्नुहुन्छ।

पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध वहॉंले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताउनु भएको छ।

सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन हामी सबैसँग हार्दिक अपील गर्दछौँ।

साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमका बीच औपचारिक घोषणा गर्दैछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी

कास्की क्षेत्र नं २ मा उमेदवार चयन बारे

यही कार्तिक ५ र ६ गते पोखरामा केही महत्त्वपूर्ण निर्णय सहित साझा पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देश भरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी-व्यवसायी लगायत आम जन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। साथै आसन्न उप-निर्वाचनका बारेमा रणनीतिक योजना, उम्मेदवार चयन र निर्वाचन परिचालन बारेमा पनि आवश्यक निर्णय लिएको छ।

बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसी लाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ। उप-निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि-विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने छ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

जग जाहेरै छ, भ्रष्टाचार शिखरमा छ। शिक्षा र स्वास्थ्यमा नाफाखोर व्यापार छ। क्षमतावान् र ऊर्जा शील युवा देश छोड्न बाध्य छन्। नागरिक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख देखिंदैछ। जनभावनालाई प्रखररूपमा मुखरित गर्ने भूमिकामा रहेको प्रतिपक्ष अकर्मण्य र उदासीन छ। सत्तासीन र प्रतिपक्षमा रहेका दुवै ठुला दलले जनताको अपेक्षामा गंभिर तुषारापात गरेका छन्।

मुलुकका यी सबै समस्याको जड राजनीतिलाई पेसा र राज्य दोहनको माध्यम बनाउने पुराना दलको गलत राजनीतिक शैली हो भन्ने साझा पार्टीको ठहर छ।

यो पृष्ठभूमिमा सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न रिक्त पदमा हुन लागेको उप-निर्वाचन जनप्रतिनिधि छान्ने एक सामान्य निर्वाचन मात्र होइन। यो उपनिर्वाचन सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दुवै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको ‘जनमत-सङ्ग्रह’ हो। हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नु पर्ने गहन जिम्मेवारी थपिएको छ।

राजनीतिक बेथितिप्रति आमजनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखि सिर्जनात्मक शक्तिमा बदल्न अब साझा पार्टी मात्र भरपर्दो विकल्प हो। हामी तपाईँको सहयात्री हुँदै पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्याणकारी लोकतन्त्र’मार्फत एकै पुस्तामा देश रूपान्तरण गर्न प्रतिबद्ध छौँ।

तराजु चिन्हमा छाप लगाई साझा पार्टीको अभियानलाई सघाउन तपाईँलाई हार्दिक अपिल गर्दछौँ।

डा सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: ६ कार्तिक २०७६

सभामुखमाथि बलात्कारको आरोपबारे

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गंभीर ध्यानाकर्षण भएको छ। घटनाको सत्यतथ्य र विस्तृत विवरण समयक्रममा आउँने नै छ।

तर हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ। उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ। साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ।

देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला?

एकातिर, अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको छ। दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ। आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र संवृद्धिको चाहानामा तुषारापात भएको छ। सरकारले सुरक्षाको प्रत्याभूती दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन्।

अर्कोतिर, अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो। यसले संबन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दीर्घकालिन प्रभाव त पार्छ नै। सँगसँगै व्यक्तिसँग जोडिएका संबन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गंभीर आशंका र अविश्वास जन्माउँछ। नागरिकको आक्रोसलाई बढाउँछ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: १४ असोज २०७६