२०१८ की मिस नेपाल अर्थ पृया सिग्देल साझा पार्टीमा

गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्।

उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सिग्देल भन्छिन्: “मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ।

तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।”

सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको छ।

यो निर्णयले आम युवाहरुलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने हामीले विश्वास लिएका छौं।

डा सूर्यराज आचार्य
प्रवक्ता,
साझा पार्टी
२५ साउन २०७६

कर्मचारी युनियन खारेजीबारे

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन ‘संघिय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धी विधेयक’को दफा १२० प्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ।

प्रस्तावित विधेयकको दफा १२० मा ‘निजामती कर्मचारीको हक हितका लागि सामुहिक संवाद र सहमति गर्न तथा कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि एक आधिकारिक ट्रेड युनियन हुने’ व्यवस्था गरेको छ।

उक्त व्यवस्थाले कर्मचारीलाई नागरिकको सेवामा भन्दा राजनीतिमा बढी अभिरुची पैदा गर्नेछ। क्षणिक राजनीतिक लाभको लागि कर्मचारीलाई राजनीतिमा तानेर फाइदा लिने राजनीतिक दलहरुको विगतलाई समिक्षा गर्दा निजामती सेवामा ट्रेड युनियन गठन गर्न दिनु भनेको अप्रतक्ष्यरुपमा कर्मचारीलाई दलीय विभाजनमा तान्नु हुनेछ।

सामुहिक दवावमार्फत राजनीतिक फाइदाको लागि उपयोग भइरहेका दलैपिच्छे रहेका कर्मचारी यूनियनले सुशासनलाई धराशायी बनाउँदै आएका छन्।
सरकारी वेतनधारी कर्मचारीलाई युनियनबाजी गर्न दिएर कुनै पनि हालतमा देशले प्रगति गर्न सक्दैन। त्यसैले कर्मचारी युनियन नबनाउने घोषणा गरिसकेको साझा पार्टी विद्यमान कर्मचारी युनियनहरू पुर्णरूपमा खारेज गर्न जोडदार माग गर्दछ। त्यसै सन्दर्भमा प्रस्तावित विधेयकको दफा १२० लाई पुरै हटाउन पर्छ भन्ने हाम्रो अडान छ।

विकास र संवृद्धिका एजेन्डा कार्यान्वयनमा उपलब्ध स्रोतसाधनको समेत प्रभावकारी उपयोग हुन नसक्नुको एउटा प्रमुख कारण युनियनबाजीले भताभुङ्ग पारेको कर्मचारी संयन्त्र हो भन्ने जगजाहेर छ।

सरकार समर्थक तथा प्रमुख प्रतिपक्षी दलमा रहेका केही सांसदहरुले समेत दफा १२० पुरै हटाएर कर्मचारी सेवालाई राजनीतिबाट मुक्त गर्न गरिरहेका वकालतको साझा पार्टी हार्दिक स्वागत गर्दछ। यो सवालमा आवश्यक परेमा संयूक्त विरोध तथा संघर्षको लागि समेत पार्टी तयार रहेको जानकारी गराउन चाहान्छौं।

यो विधेयकलाई जस्ताको तस्तै पारित गर्न प्रधानमन्त्री लगायत सरकारी तथा प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताहरुको दवाव र निर्देशनलाई अवज्ञा गरेर स्वाभिमानी र सुशासन चाहाने प्रत्येक सांसदहरुले कर्मचारीलाई राजनीतिबाट अलग गर्ने यो ऐतिहासिक अवसरलाई सदुपयोग गरुन् भन्ने साझा पार्टीको विनम्र अनुरोध छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: २३ साउन २०७६